समस्यामा परेका मजदुरलाई नुवाकोट ट्रेड युनियन कांग्रेसको सहयोग

बिदुर । नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा लकडाउनका कारण मजदुरी गर्ने अवसरबाट समेत बञ्चित भई समस्यामा परेका मजदुरहरुलाई सहयोग उपलब्ध गराएको छ । श्रमिक दिवसको अवसरमा शुक्रवार बिदुर नगरपालिका वडा नम्वर २ को शेरामा हुम्ला जिल्लाको कार्कीबाडाबाट आई मजदुरी गरीरहेका श्रमिकका परिवारहरुलाई खाद्यान्न लगायतका सहयोग उपलब्ध गराईएको युनियनले जनाएको छ ।

नुवाकोट उद्योग बाणिज्य संघकी बरिष्ठ उपाध्यक्ष गीता अमात्यको समन्वयमा सेरामा रहेका तीन परिवारलाई प्रति परिवार एक–एक बोरा चामल सहित नुन, तेल, मस्यौरा, दाल, मास्क र बालिकाहरुलाई कपडा समेत उपलब्ध गराईएको नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटका उपाध्यक्ष जनार्दन सिलवालले जानकारी दिएका छन् । युनियनले लकडाउन पछि निरन्तर समस्यामा परेका श्रमिकहरुलाई सहयोग गर्दे आएको र आगामी दिनमा पनि यो कामलाई निरन्तरता दिईने जिल्ला अध्यक्ष शिव देबकोटाले बताए ।

यसैबिच श्रमिकका समस्याहरुको समाधानका लागि बिशेष कार्यक्रम ल्याउन माग गर्दे शुक्रवार नै ईमेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाईएको नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?