इबोलाको औषधि कोरोना बिरामीमा प्रभावकारी भएको अमेरिकाको दाबी

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट निको पार्ने क्षमता भएको औषधिको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित भएका लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको छ ।

यसबारे पूर्ण विवरण प्रकाशित भएको छैन। विज्ञहरूले यो कुरा पुष्टि भए उत्साहजनक हुने तर कोभिड-१९ का लागि यो रामवाण चाहिँ नहुने बताएका छन् ।

यसले मानिसहरूको जीवन जोगाउने, अस्पतालहरूमा चाप कम गर्ने र लकडाउन खुकुलो पार्न सहयोग गर्ने सम्भावना रहनेछ ।

इबोलाको उपचारको लागि रेम्डेसिभिर विकसित गरिएको थियो । यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ ।

अध्ययनले के भन्छ ?

 

औषधि

यो अध्ययन यूएस न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले गरेको र त्यसमा १,०६३ जनाले भाग लिएको बताइएको छ। तीमध्ये केहीलाई सो औषधि दिइएको र अन्यलाई नदिकनै उपचार गरिएको बताइएको छ ।

इन्स्टिट्यूटका प्रमुख डा। एन्थोनी फाउची भन्छन्, तथ्याङ्कले रेम्डेसिभिरले निको हुने समय घटाउने स्पष्ट, महत्त्वपूर्ण र सकारात्मक असर पारेको देखाएको छ ।

यो परिणामले औषधिले भाइरसलाई रोक्न सक्ने देखाएको र कोभिड-१९ को उपचार गर्न सकिने ढोका खोलेको उनले बताए ।

मृत्युको सम्बन्धमा औषधिले कस्तो असर पार्छ भन्ने स्पष्ट छैन ।

यो औषधि दिइएका व्यक्तिमा मृत्युदर आठ प्रतिशत र नदिइएकोमा ११.६ प्रतिशत रहेको बताइए पनि यो परिणाम तथ्याङ्कको आधारमा महत्त्वपूर्ण नरहेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?