जिपी कोइराला फाउन्डेसनले निःशुल्क जिल्ला पठायो नुवाकोटवासीलाई

काठमाडौं । पाँच सातादेखिको लकडाउनका कारण राजधानीमा अड्किएका र दैनिक जीविकोपार्जनमा समस्या खेपिरहेका नुवाकोटवासीलाई घर फर्कन सघाउने उद्देश्यले गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउन्डेसन) नुवाकोटले काठमाडौंदेखि नुवाकोटका विभिन्न स्थानसम्म निःशुल्क यातायातको व्यवस्था गरेको छ ।

नेपाली काँग्रेसका युवानेता तथा महासमिति सदस्य रमेशकुमार महतको क्रियाशीलता र जिल्लाका स्थानीय तहहरूसँगको समन्वयमा फाउन्डेसनले सञ्चालन गरेको निःशुल्क यातायात सेवाअन्तर्गत आज काठमाडौँका बौद्ध, महाराजगञ्ज, सामाखुसी, माछापोखरी, नयाँबजार, कलङ्कीलगायत स्थानबाट करिब एक दर्जन बस नुवाकोट पठाइएका छन् ।

लकडाउनसँगै लामो समय व्यापार, व्यवसाय र रोजगारी बन्द हुँदा काठमाडौंमा अस्थायी बसोबास गरिरहेका हजारौँ नुवाकोटवासीको समस्या दिनानुदिन जटिल बन्दै गएको अवस्थालाई मध्यनजर गरी घर फर्किन चाहनेका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको काँग्रेस युवानेता रमेशकुमार महतले बताए । जनताप्रतिको उत्तरदायित्व वहन गर्ने सन्दर्भमा विगतदेखि नै आफू निरन्तर लागिपरेको स्मरण गर्दै नेता महतले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्व पालनामा नचुक्ने प्रतिबद्धता व्यक्त गरे ।

फाउन्डेसनका जिल्ला अध्यक्ष रमेशकुमार पाठकले यो विषम परिस्थितिमा जनतालाई राहत दिने कार्यमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा आफूहरू जिल्लावासीको पीडामा मलम लगाउने प्रयासमा जुटेको बताए। मानवसेवाको कार्यमा आफू र संस्था निरन्तर लागिपर्ने उनको सङ्कल्प छ । उनले फाउन्डेसनको अभियानमा नैतिक वा भौतिक साथ र समर्थन दिने सम्पूर्णमा आभार प्रकट गरे।

फाउन्डेसनका जिल्ला उपाध्यक्ष शिव अधिकारी अविरलले फाउन्डेसनले सबै जिल्ला र स्थानीय तहसम्म फैलिएका समितिहरूमार्फत देशैभर मानवसेवाको अभियान चलाइरहेको भन्दै कठिन घडीमा फाउन्डेसनको क्रियाशीलता अझै बढिरहने बताए। जिल्लावासीको जुनसुकै समस्यामा साथ र सहयोग पुर्याउन आफूहरू अहोरात्र खटिइरहेको स्मरण गर्दै अधिकारीले भविष्यमा पनि नुवाकोटको सेवामा उत्तिकै तदारुकताका साथ लागिरहने अठोट व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?