काठमाडौं । फ्रान्सको एउटा गुफामा भेटिएको एउटा पुरानो डोरीको टुक्राले आदिमानव नीयान्डर्टालको सङ्ज्ञानात्मक क्षमता आधुनिक मानवजातिको भन्दा कम थियो भन्ने मान्यतालाई चुनौती दिने देखिएको छ ।
उक्त डोरी ५०,००० वर्ष पुरानो हो र अहिलेसम्म भेटिएकोमध्ये सबैभन्दा प्राचीन हो ।
वैज्ञानिक जर्नल साईअन्टिफिक रिपोर्ट्समा प्रकाशित एउटा अध्ययनका अनुसार अब्रि डि मारस क्षेत्रको गुफामा ढुङ्गाबाट बनेको एउटा औजारमा रूखको बोक्राबाट बनेको उक्त डोरीको टुक्रा फेला परेको थियो र उक्त डोरी तीनसूते थियो । यसको अर्थ के हो भने नीयान्डर्टाल मानवलाई जोडी र सङ्ख्याको ज्ञान थियो ।

बुनिएका रेसा कपडा, झोला, जाली र डुङ्गा बनाउने आधार हुन् । नीयान्डर्टाल मानव झन्डै ४०,००० वर्षअघि लोप भएका थिए । उनीहरूले भोजपत्रको बोक्राबाट मोसो, चित्रकला र सिपीको माला बनाउने गरेका थिए ।
उनीहरू आगो पार्न र निभाउन सक्थे तथा सुरक्षित रूपमा आवास गर्थे। उनीहरूसँग ठूला वन्यजीवको सिकार गर्ने सीप थियो र उनीहरू आफन्तको शवलाई गाड्थे । पुरातत्त्वविद् र पुरामानवशास्त्रीले अब्रि डि मारसजस्ता स्थानमा अन्य जीवका अवशेष वा ढुङ्गे औजार मात्र फेला पारेका छन् । कुहिएर नष्ट हुने सामग्री प्रायस् भेटिएको छैन ।
ढुङ्गे औजार गुफाभित्र भेटिएको थियो । तर फ्रान्स, अमेरिका र स्पेनका अनुसन्धानकर्ताको टोलीले झन्डै साढे दुई इन्च लामो ढुङ्गे औजारमा डोरीको टुक्रा फेला पारे । कोनिफर जातको रूखको बोक्राको भित्री भागबाट रेसा निकालेर डोरी बनाइएको विश्वास गरिएको छ ।
उक्त टुक्रा ६।२ मिलिमिटर लामो र ०.५ मिलिमिटर चौडा छ। रेसालाई तीनवटा सूत्रमा बाटेर क् आकारमा दाहिनेपट्टि घुमाइएको छ। एकचोटि घुमाएपछि ती सूत्रलाई उल्टो दिशामा बाटेर डोरी बनाइएको छ ।

डोरीको टुक्रा ६.२ मिलिमिटर लामो र ०.५ मिलिमिटर चौडा छ । त्यसरी बनाइएको डोरीले नीयान्डर्टाललाई आफूवरिपरिको पारिस्थितिक प्रणाली र वनस्पतिको राम्रो ज्ञान भएको तथा तिनलाई उपयोग गर्ने क्षमता भएको देखाएको उक्त शोधमा उल्लेख गरिएको छ ।
डोरी बाट्ने कामका लागि एकैचोटि धेरै र क्रमबद्ध गतिविधि आवश्यक हुन्छ । डोरी बाट्ने क्रियाले उनीहरूमा सङ्ख्याको ज्ञान र विशेष परिस्थितिमा आवश्यक कार्यगत स्मरणशक्ति भएको देखाएको पनि उल्लेख छ ।
तस्वीर बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया