सांसद अपहरण काण्डका संलग्नलाई कारवाही गर्न ६ विद्यार्थी संगठनको माग

काठमाडौं । समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादव अपहरण काण्डमा संलग्‍न व्यक्तिलाई तत्काल कारबाही गर्न विभिन्‍न ६ विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन देश लकडाउनमा भएका बेला राजनीतिक दल विभाजन गराउने योजना बनाइ सांसद अपहरण गरिएकोप्रति नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रवि संघ र अखिल (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल कारबाही गर्न माग गरेका छन् ।

उक्त विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दुईजना सत्तारुढ दलका सांसदसहित पूर्वआईजीपी सर्वेन्द्र खनालले जनकपुरबाट पूर्वमन्त्री डा. सुरेन्द्र यादवको अपहरण गरेर काठमाडौं ल्याएर पार्टी फुटाउन दबाब दिएको आरोप रहेको छ ।

उक्त विज्ञप्तीमा भनिएको छ, “सबै राजनीतिक दल तथा सम्पूर्ण जनता एकताबद्ध भई कोरोना महामारीविरुद्ध लडिरहेको यस गम्भीर क्षणमा नेपाली राजनीतिलाई नै बदनाम गर्ने तथा लोकतन्त्रलाई कमजोर पार्ने यो आपराधिक तथा लज्जाजनक कार्यको हामी घोर भर्त्सना गर्दछौं । सांसदलाई जबर्जस्ती मानसिक दवाब दिने आपराधिक कार्यमा संलग्न सम्पूर्णलाई कानुनी कारबाहीको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?