के नेपाल औषधि उत्पादनमा आत्मनिर्भर हुन सक्छ ?

काठमाडौं – करिब ५० वर्ष भयो नेपालमा निजी क्षेत्रबाट औषधि उत्पादन थालिएको । केमि ड्रग प्रालिले २०२६ सालबाट नेपालमा निजी क्षेत्रबाट औषधि उत्पादन थालिएको थियो । तर पनि आजसम्म आइपुग्दा हामी अझै ५०६ औषधी, अन्तर्राष्ट्रिय बजारबाट आयात नै गर्छौ । नेपालमा ५५ वटा औषधी उद्योगहरुले विभिन्न प्रकारका औषधीहरु उत्पादन गरिरहेका छन् ।

जसमा २५ अर्बभन्दा बढीको लगानी छ । नेपालमा ७ हजार ७ सय २७ ब्राण्डका औषधीहरु उत्पादन भईरहेका छन् । छिमेकी मुलुकबाट हाल ९ हजार ४ सय ३५ ब्राण्डका औषधीहरु आयात भईरहेको औषधि व्यवस्था विभागको तथ्याङ्कमा उल्लेख छ ।

औषधी नीति २०५१ ले १० वर्षभित्रमा ८० प्रतिशत औषधी स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको थियो। तर आज कोरोन भाइरस संक्रमण र यसले उत्पन्न गरको परिस्थितिले हाम्रो औषधी उत्पादन क्षमतामा मात्र होइन पुरै स्वास्थ्य क्षेत्रकै अवस्थमा ठुलो प्रश्न चिन्ह खडा गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिएपछि गत फागुन २० मा भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले १३ थरीका कच्चा पदार्थ र तिनै कच्चा पदार्थबाट बन्ने १३ थरीका औषधीको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गर्यो ।

पारासिटामोल, ट्रिनिड्याजोल, मेट्रोनिडाजोल, एसाइक्लोभियर लगायतका औषधीको निर्यातमा प्रतिबन्धको कुरा संगै नेपाललमा औषधी अभाव हुने हल्ला चल्यो । यसैक्रममा औषधी व्यवसायीहरूले प्रतिवन्ध लगाएका अधिकांश औषधीका कच्चा पदार्थ मौज्दात रहेकाले आफैँ बनाउन सक्ने र चिनियाँ व्यवसायीबाट पनि औषधि र त्यसको कच्चा पदार्थ ल्याउन सक्ने समेत बताए ।

नेपालमा कुल वार्षिक खपतमध्ये ४८ प्रतिशत तयारी औषधी भारतबाट आउँछ भने ५२ प्रतिशत नेपाली कम्पनीले नै उत्पादन गर्छन् । यस्तै नेपालमा उत्पादन हुने औषधीका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुन्छ ।

माथिको तथ्याङ्कलाई मान्ने हो भने त नेपालमा औषधी उतपादनको अवस्था राम्रै देखिन्छ । तर वास्तविकता अर्को पनि छ नेपालमा उत्पादन हुने धेरै औषधि सामान्य प्रकृतिका हुन् र विशिष्ट औषधिका लागि हामी अझैपनि आयातमै निर्भर छौँ ।

अर्कोतर्फ भारतले सो नियम नेपाल र भुटानलाइ नलाग्ने पनि स्पष्ट पारेको छ । समस्या आइलाग्नु पूर्व नै सामसुम भयो ।

उत्पादनमा हामी पनि आत्मनिर्भर हुन्सक्ने औषधि उत्पादकहरुको दावी छ । नेपालका औषधि उत्पादकहरु सरकारले यस्ता उद्योगहरुलाई थोरै राहत र नियन्त्रित आयातको अवधारणा अघि सार्ने हो भने हामी सजिलै औषधि उत्पादनमा आत्मनिर्भर हुन सक्ने उद्योगीहरुको भनाइ छ ।

देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा नेपालमा नै सम्भावना भएको औषधीहरु उत्पादनमा रोक लगाई सरकारले खुल्ला रुपमा विदेशबाट आयात गर्नमा भने प्रोत्साहन गरेको गुनासो गर्दछन् ।

सबै प्रकारको खुल्ला आयातलाई रोक लगाउन सरकार सक्षम भए मात्र नेपाल औषधीमा निर्भर हुन सक्ने निर्देशक शर्माको तर्क छ ।

भारतले स्वदेशी औषधी उद्योगलाई बिशेष सुबिधा दिएको छ । त्यसको आधा सुबिधा मात्रै पायौं भने पनि धेरै प्रगति गर्न सक्ने औषधि व्यवसायीहरुको तर्क छ । बंगलादेश जस्तो अति कम विकसित रास्ट्रले समेत विगतमा औषधी उद्योग सम्बन्धि अवलम्बन गरेको सहि नीति कै कारण आज बंगलादेश औषधी उत्पादनमा आत्मनिर्भर हुन सकेको छ ।

कस्तो छ, बंगलादेशको मोडेल ? 

सन् १९८२ मा बंगलादेश कफ सिरप, भिटामिन, एण्टासिड लगायतका सामान्य औषधीको उत्पादन स्वदेशी उद्योगले मात्र गर्ने र कुनै पनि दुइटा बंगाली उत्पादकले उत्पादन गरेको औषधीको कच्चापदार्थ मात्र आयात गर्ने नीतिका कारण हाल बंगलादेशको निर्यात गर्ने वस्तुमा औषधी मुख्य रुपमा पर्न सकेको हो । बंगलादेशले हरेक नागरिकलाई सस्तो र गुणस्तरिय औषधी उपलब्ध गराउने औषधी नीति पूर्ण रुपले लागू गर्यो ।

सन् २०१३ सम्म पनि बंगलादेशमा उत्पादन हुने ८० प्रतिशत औषधिको कच्चापदार्थ भारत र चीनबाट मात्र आयात हुन्थ्यो। कच्चापदार्थमा आत्मनिर्भर हुन सन् २०१३ मा औषधीको कच्चा पदार्थ उत्पादनका लागि गजरिया, मुन्सीगञ्जमा लगायत स्थानमा औद्योगिक क्षेत्र बनाएर ती उद्योगलाई बिशेष सहुलियत प्रदान गर्ने कार्य बंगलादेशले गर्यो।

आज बंगलादेश औषधीमा ९७ प्रतिशत आत्मनिर्भर छ । बंगलादेशले अनुदान दिँदैन तर बंगलादेशले ८० वटा मुलुकमा औषधी निर्यात गर्छ । यसको मुख्य कारण हो स्वदेशी उद्योगलाइ बंगलादेश सरकारले दिएको विशेष संरक्षण । त्यतिबेला बंगलादेश सरकारमाथि पनि औषधी निर्यात रास्ट्र र व्यापारिक समुहहरुको ठुलै दबाब थियो तर हरेक नागरिकलाई सस्तो र गुणस्तरिय औषधी उपलब्ध गराउने औषधी नीतिमा बंगलादेशले कुनै सम्झौता गरेन र आज यो देश औषधी निर्यातक रास्ट्रमा पर्दछ ।

नेपालमा पनि हरेक उद्योगसँग आफ्नै प्रयोगशाला छ, डब्ल्युएचओ र जीएमपी मापदण्ड पुरा गरेका छन् र आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् अब पालो औषधी नीतिको ।

८० प्रतिशत औषधी स्वदेशमै उत्पादन गर्ने लक्ष्य प्राप्तिको लागि अघि बढ्ने, खाद्य सुरक्षा र स्वास्थ्य सुरक्षालाइ उद्योग र व्यवसाय भन्दा माथि उठेर राष्ट्रिय सुरक्षाको आँखाले राज्यले हेर्नुपर्छ र सोहि अनुरुप व्यवहारमा काम गर्न सक्नुपर्छ । नेपाल पनि औषधी उत्पादनमा छोटो समयमै आत्म निर्भर हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?