“सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ”

खेमराज गौतम / गलकोट । बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त भएकी धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको पाँचौँ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छैटौँ स्वाबको नमूना पनि नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए । २८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताइन् ।

उनले आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै धैर्यता गर्न सबैलाई आग्रह गरिन् । “सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ”, सापकोटाले भनिन, “कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगे ।” उनले औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लगेको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई धेरै धन्यवाद दिइन् ।

“चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन”, उनले अनुभव सुनाइन् । “२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइन, आत्मबल झनै दह्रो बनाएर बसेँ ।” अन्य कोरोना सङ्क्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान सुझावसमेत दिइन् । आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उनले सबैलाई रोगप्रति सचेत रहन आग्रह गरिन् । सापकोटाले मानसिकरूपमा विचलित भएमा कमजोर हुने भन्दै सबैलाई सकारात्मक सोच्न आग्रह गरिन् । आत्मबल र धैर्यता नै कोरोनाको अचुक औषधि रहेको उनले बताइन् ।

छोरीलाई कोरोना सङ्क्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भए पनि २८ दिनमा छोरीलाई घर फर्काउन पाउँदा ज्यादै खुशी भएको अंशुका बुबा ऋषिराम सापकोटाले बताए । उनले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा बाबुका नाताले धेरै पीडा भए पनि सकुसल घर फर्काउँदा पीडा खुशीमा परिणत भएको बताए ।

अठ्ठाइस दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको भन्दै अंशुले उपचारमा खट्ने तथा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका थिए । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको हेरचाहप्रति आफू आभारी भएको अंशुको भनाइ छ । अस्पताल बसाइमा अंशुले आफूलाई कहिल्यै कमजोर नठानेको उपचारमा संलग्न डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए । युवतीलाई नेपाल रेडक्रस सोसाइटीकोे एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालयले घर पु¥याएको थियो ।

युवतीको अवस्था सामान्य भए पनि यसअघिको चार स्वाब रिपोर्ट कोरोना सङ्क्रमण अर्थात् पोजेटिभ रिपोर्ट आएको थियो । युवती चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिइन् । उनको चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसै सातामात्रै नेपालको छैटौँ तथा जिल्लाको दोस्रो सङ्क्रमित बानपा–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल दम र उच्च रक्तचापका बाबजुद पनि सहजै कोरोनालाई जितेर घर फर्किएकी छिन् । रासस

यसैबीच उदयपुर जिल्लाको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमणको रहस्य खोतल्न विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार भुल्के पुगेको उक्त टोलीले हप्ता दिनमा रिपोर्ट पेस गर्ने हिसाबले काम शुरु गरेको छ । टोलीमा एक जना विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित चार जना जनस्वास्थ्य विज्ञ रहेको स्वास्थ्य मन्त्रालयले बताएका छन् ।

उनीहरूले हप्ता दिनमा संक्रमण कसरी फैलियो, संक्रमणको फैलावट कहाँसम्म पुग्ने भनेर रिपोर्ट पेस गर्ने बताइएको छ ।
उक्त टोलीले अहिले संक्रमण फैलिएको स्थान उलयपुरको भुल्केमै पुगेर अनुसन्धान थालेको हो । गत शुक्रवार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पुष्टि भएको थियो।

बाँकी चार जनामा पछि संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई उच्च जोखिमको रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?