काठमाडौं- नेपालमा हालसम्म कोरोनाको आशंकामा आफ्नो विवरण टिपाएका २४ हजार ९ सय २६ जनामध्ये २ सय ८७ जना रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको एप र वेवपेजमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुले यस्तो विवरण भरेकोमा गत २४ घण्टामा मात्रै ९ जना रेड जोनमा परेका छन् । तिनको अरु विवरण लिने र ट्रेसिङ गर्ने काम सम्बन्धित महाशाखाबाट भइरहेको छ ।
त्यस्तै नेपालमा भेटिएका ४८ मध्ये १० जना निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ । बाँकी ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रेस व्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले भने, संक्रमितको अवस्था सामान्य छ । मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म पिसिआर विधीमार्फत् कुल ९ हजार ४ सय ७ वटा परीक्षण सम्पन्न भएको छ । त्यस्तै आरडिटी विधीमार्फत् ३८ हजार ८९ वटा परीक्षण सम्पन्न भएको छ । यसरी हालसम्म नेपालमा पिसीआर र आरडिटी दुवै विधीमार्फत् ४७ हजार ४ सय ९६ वटा परीक्षण सम्पन्न भएको छ । गत २४ घण्टामा मात्रै ३ हजार ७ सय ९१ वटा नयाँ परिक्षण भएको मन्त्रालयलले जनाएको छ ।
हालसम्मको विवरण अनुसार प्रदेश नमबर १ मा ३ हजार ९ सय २९ वटा आरडिटी परिक्षण भएको छ । प्रदेश २ मा ४ हजार ९ सय १७ वटा, बागमति प्रदेशमा ७ हजार १ सय ४३ वटा परीक्षण भएको छ । गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३ वटा परीक्षण भएको छ । प्रदेश ५ मा २ हजार ८ सय ७४ वटा परीक्षण भएको छ । कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० वटा परीक्षण भएको छ । सुदूरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ वटा परीक्षण सम्पन्न भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
हालसम्म नेपालमा ८९ जना मानिस आईसोलेसनमा छन् । काठमाडौंमा ३ जना र काठमाडौंबाहिर ८६ जना आईसोलेसनमा उपचार गराइरहेका छन् । त्यस्तै क्वारेन्टाईनमा बस्नेको संख्या १२ हजार ९ सय ८५ रहेको छ ।
मन्त्रालयको कल सेन्टर ११३३ र १११५ मा गत २४ घण्टामा १ हजार ७ सय ८ जनाले कल गरेर विभिन्न जिज्ञाशा राखेकोमा स्वास्थ्यकर्मीले उनीहरुको समस्या सम्बोधन गरेका छन् ।
यसैबीच बिहिबार भेटिएका संक्रमितबारे पनि स्वास्थ्य मन्त्रालयले थप जानकारी दिएको छ । संक्रमित भोजपुरका २६ वर्षे युवा पुरुष हुन् । उनी गत फागुन ३० गते साउदी बाट हिमालयन एअरमार्फत् नेपाल आएका थिए । उनको हाल हतुवागढीमा उपचार भइरहेको छ । केहिबेरमा उनलाई विराटनगर लैजाने मन्त्रालयले जनाएको छ । त्यहाँ उनको थप उपचार हुनेछ । उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि सिधै उदयपुर गएको र त्यसपछि भोजपुर गएको विवरण मन्त्रालयलाई प्राप्त भएको डाक्टर देवकोटाले जानकारी दिएका छन् । संक्रमित युवा उदयपुरमा बस्दा सँगै भेटेका व्यक्तिको पनि जाँच गर्ने कार्य सुरु भइसकेको छ । बाँकी सबैको अवस्था सामान्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया