नेपालमा कोरोना भाइरस अपडेट : ४७ हजार ४ सय ९६ वटा परीक्षण, ८९ जना आईसोलेसनमा !

काठमाडौं- हालसम्म नेपालमा संक्रमित भएका ४८ जनामध्ये १० जना निको भएर घर फर्केका छन् भने बाँकी ३८ जनाको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म पिसिआर विधीमार्फत् कुल ९ हजार ४ सय ७ वटा परीक्षण सम्पन्न भएको छ ।  त्यस्तै आरडिटी विधीमार्फत् ३८ हजार ८९ वटा परीक्षण सम्पन्न भएको छ । यसरी हालसम्म नेपालमा पिसीआर र आरडिटी दुवै विधीमार्फत् ४७ हजार ४ सय ९६ वटा परीक्षण सम्पन्न भएको छ । गत २४ घण्टामा मात्रै ३ हजार ७ सय ९१ वटा नयाँ परिक्षण भएको मन्त्रालयलले जनाएको छ ।

हालसम्मको विवरण अनुसार प्रदेश नमबर १ मा ३ हजार ९ सय २९ वटा आरडिटी परिक्षण भएको छ । प्रदेश २ मा ४ हजार ९ सय १७ वटा, बागमति प्रदेशमा ७ हजार १ सय ४३ वटा परीक्षण भएको छ । गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३ वटा परीक्षण भएको छ । प्रदेश ५ मा २ हजार ८ सय ७४ वटा परीक्षण भएको छ । कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० वटा परीक्षण भएको छ । सुदूरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ वटा परीक्षण सम्पन्न भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

हालसम्म नेपालमा ८९ जना मानिस आईसोलेसनमा छन् । काठमाडौंमा ३ जना र काठमाडौंबाहिर ८६ जना आईसोलेसनमा उपचार गराइरहेका छन् । त्यस्तै क्वारेन्टाईनमा बस्नेको संख्या १२ हजार ९ सय ८५ रहेको छ ।

मन्त्रालयको कल सेन्टर ११३३ र १११५ मा गत २४ घण्टामा १ हजार ७ सय ८ जनाले कल गरेर विभिन्न जिज्ञाशा राखेकोमा स्वास्थ्यकर्मीले उनीहरुको समस्या सम्बोधन गरेका छन् ।

यसैबीच मन्त्रालयको एप र वेवपेजमा २४ हजार ९ सय २६ जनाले आफूलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै भरेको विवरणका आधारमा हालसम्म २ सय ८७ जना मानिस रेड जोनमा परेका छन् । गत २४ घण्टामा मात्रै १३२४ वटा विवरण भरिएकोमा ९ जना रेड जोनमा परेका छन् । तिनको अरु विवरण लिने र ट्रेसिङ गर्ने काम सम्बन्धित महाशाखाबाट भइरहेको छ ।

मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका संक्रमितमध्ये १० जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी ३८ जना संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

यसैबीच बिहिबार भेटिएका संक्रमितबारे पनि स्वास्थय मन्त्रालयले थप जानकारी दिएको छ । संक्रमित भोजपुरका २६ वर्षे युवा पुरुष हुन् । उनी गत फागुन ३० गते साउदी बाट हिमालयन एअरमार्फत् नेपाल आएका थिए । उनको हाल हतुवागढीमा उपचार भइरहेको छ । केहिबेरमा उनलाई विराटनगर लैजाने मन्त्रालयले जनाएको छ । त्यहाँ उनको थप उपचार हुनेछ । उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि सिधै उदयपुर गएको र त्यसपछि भोजपुर गएको विवरण मन्त्रालयलाई प्राप्त भएको डाक्टर देवकोटाले जानकारी दिएका छन् । संक्रमित युवा उदयपुरमा बस्दा सँगै भेटेका व्यक्तिको पनि जाँच गर्ने कार्य सुरु भइसकेको छ । बाँकी सबैको अवस्था सामान्य छ ।

यो समाचार तयार पार्दासम्म कोरोना भाइरस ‘कोभिड- १९’ को कारण विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । त्यस्तै कोरोना संक्रमण निको हुनेको संख्या ७ लाख ५१ हजार १३० पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५० हजार २४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख १४ हजार ३६२ जना पुगेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ५४९ जना, स्पेनमा २२ हजार १५७ जना, फ्रान्समा २१ हजार ८५६, बेलायतमा १८ हजार ७३८ जना, बेल्जियममा ६ हजार ४९० जना, जर्मनीमा ५ हजार ५७५ जना, नेदरल्यान्ड्समा ४ हजार १७७ जना, स्वीडेनमा २ हजार २१ जना, स्वीट्जरल्यान्डमा १ हजार ५५१ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ४८१ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ३३१ जना, मेक्सिकोमा १ हजार ६९ जना, भारतमा ७२२, इन्डोनेसियामा ६४७ जना, इक्वेडरमा ५६० जनाको मृत्यु भएको छ ।

अमेरिकामा विगत २४ घण्टामा २ हजार ३०० जनाको मृत्यु
कोरोनाका कारण अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार ३०० जनाको मृत्यु भएको हो । यो सहित अमेरिकामा सबैभन्दा बढी ५० हजार २४३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख १४ हजार ३६२ जना पुगेको छ ।

यो पनि पढ्नुहोस् : 
अमेरिकाको नर्सिङ होममा ११ हजार वृद्धवृद्धाको कोरोनाको कारण मृत्यु ! 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?