ओलीमाथि कडा दवाव : ६ शीर्ष नेताको बैठकद्वारा ओलीले पार्टीलाई क्षति पुर्‍याएको ठहर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पार्टीको शीर्ष तहमाथि नै कडा दवाव परेको छ । दुई विवादास्पद अध्यादेश बिना औचित्य र पार्टीभित्र समेत कुनै छलफल नगरी ल्याएको आरोप खेप्दै आएका ओलीमाथि पार्टी शीर्ष नेतृत्वले यसबाट उनले पार्टीलाई गम्भीर क्षति पुर्याएको ठहर गरेका छन् ।

बिहीबार साँझ उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बसेको प्रचण्डसहित सचिवालयका ६ नेताको बैठकले यस्तो ठहर गरेको हो । बैठकले ओलीले तत्काल अध्यादेश फिर्ता गर्नुपर्ने र पार्टीमा पनि कुनै महत्वपूर्ण निर्णय गर्नुअघि उल्लेख्य सल्लाह गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले तत्काल स्थायी कमिटी बैठक बोलाइनु पर्ने निष्कर्ष समेत निकालेका छन् । बुधबारमात्रै पार्टीका २० स्थायी कमिटी सदस्यले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै नेतृत्वलाई पत्र बुझाएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनको शैलीप्रति एकमत भएर अघि बढ्ने समझदारी भ्एको छ । यस्तै तत्काल अध्यादेश फिर्ता गर्न पनि भनिएको छ ।
बिहीबारकै पार्टी अध्यक्ष प्रचण्डलगायतसँग छलफल गर्दै ओलीले अधयादेश फिर्ता लिन सकारात्मक रहेको बताएका थिए । यही विषयमा उनले राष्ट्रपतिसँग समेत परामर्श गरेपनि निर्णय आइसकेको छैन ।

भेलामा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल तथा सचिवालय सदस्यहरु बामदेव गौतम, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी थिए । प्रधानमन्त्री ओली निकट मानिने महासचिव पौडेल सहितको यो भेलालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?