सडकमै परीक्षण

कञ्चनापुर । बाह्य जिल्लाबाट कञ्चनपुर प्रवेश गर्ने ८५ जनाको सडकमै -यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ । जिल्ला प्रवेश गर्ने कृष्णपुर नगरपालिका–६ गजरौलामा रहेको हेल्थ डेस्कमा -यापिड टेष्ट गरिएको हो । सबैको नतिजा नेगेटिभ आएको छ ।

स्थानीय प्रशासनको अनुमतिबिना जिल्ला प्रवेश गरेका व्यक्तिलाई रोकी -यापिड टेष्ट विधिबाट जाँच गरेका छौँ, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, “परीक्षण गरिएका सबै जनाको नतिजा नेगेटिभ आएको छ ।”

देशका विभिन्न ठाउँबाट फर्केकामा कृष्णपुर नगरपालिकाका सात, शुक्लाफाँटा नगरपालिकाका १२, बेदकोट नगरपालिकाका ११, भीमदत्त नगरपालिकाका २२, बेलौरी नगरपालिकाका २० र लालझाडी गाउँपालिकाका नौ जना छन् ।

जानकारीबिना जिल्ला प्रवेश गरेका २८ जनालाई भीमदत्त नगरपालिकाको बैजनाथ माविको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका सबैको -यापिड टेष्टको नतिजासमेत नेगेटिभ आएको छ ।

भीमदत्तनगरस्थित गौसिया जामेमस्जिदमा रहेका अध्यक्षसहित पाँच जनाको -यापिड टेष्टको नतिजासमेत नेगेटिभ आएको छ ।

यसअघि गजरौलामा रहेको हेल्थ डेस्कमा कैलालीबाट कञ्चनपुर प्रवेश गर्ने ८७ पुरुष र २२ महिला गरी १०९ को स्वास्थ्य जाँच तथा विवरण सङ्कलन गरेको थियो । स्वास्थ्य जाँचपछि जिल्ला प्रवेश गर्ने सबैलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत गरेको छ ।

मुक्तहलियाका लागि राहत

लकडाउनबाट प्रभावित सुदूरपश्चिमका चार जिल्लाका २२५ अतिविपन्न मुक्तहलिया परिवारलाई वितरण गर्नका लागि कञ्चनपुरबाट आज राहत सामग्री पठाइएको छ ।

लुथरन विश्व फेडरेशन संस्थाको सहयोगमा राष्ट्रिय हलियामुक्त समाज महासङ्घले राहत सामग्रीसहितको ट्रक पठाएको हो ।

डडेल्धुरा, बैतडी, डोटी र कञ्चनपुर जिल्लामा वितरणका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसारको राहत सामग्री पठाइएको महासङ्घका अध्यक्ष ईश्वार सुनारले बताए ।

राहतका रुपमा चामल ६७ क्विन्टल ५५ किलो, दाल छ क्विन्टल ७५ किलो, नुन चार क्विन्टल ५० किलो, चिनी चार क्विन्टल ५० किलो रहेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्नका लागि देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्तहलिया परिवारलाई परेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?