सम्पत्ती शुद्धिकरणसम्बन्धी व्यवस्था खुकुलो पार्न बैंकरको माग

‘बैंक तथा वित्तीय संस्था परिसंघ’ले संकटग्रस्त अर्थतन्त्रलाई राहत दिन सम्पत्ती शुद्धिकरणसम्बन्धी व्यवस्था खुकुलो पार्नुपर्ने माग गरेका छन्। परिसंघको मंगलबार बसेको बैठकले सरकारलाई पाँच बुँदे सुझाव दिँदै यस्तो धारणा राखेको हो।

परिसंघले नेपालमा कसैले पनि ५० लाख अमेरिकी डलरसम्म बैंकिङ प्रणालीमार्फत रकम ल्याएर लगानी गर्न चाहेमा नेपाल राष्ट्र बैंक र उद्योग विभागको स्वीकृति चाहिने अहिलेको व्यवस्था हटाउन माग गरेको छ। त्यस्तै स्वदेशी वा विदेशी जोसुकैले विदेशबाट ५ लाख अमेरिकी डलरसम्म रकम ल्याएर पुँजी बजारमा लगानी गर्न चाहेमा पनि खुला गर्नुपर्ने माग गरेको छ। तर, त्यस्तो रकम मर्चेन्ट बैंकिङ वा क्यापिटल मर्चेन्ट कम्पनीमार्फत लगानी गर्नुपर्ने र २ देखि ३ वर्षसम्म त्यस्तो पैसा फिर्ता गर्न नपाइने व्यवस्था गर्न परिसंघले सुझाएको छ।

गैरआवासीय नेपालीले १० लाख अमेरिकी डलरसम्म नेपालमा लगानी गर्न ल्याउँदा नेपाल सरकारले त्यस्तो रकमको सम्पत्तीको स्रोत नखोज्ने व्यवस्था गर्ने गराउन पनि बैंकरले माग गरेका छन्। परिसंघ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै सरकारलाई यस्ता सुझाव दिएको जनाएका छन्। उनले नेपाली नागरिकले नेपालको कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दा त्यस्तो रकमको स्रोत नखोज्ने व्यवस्था गर्न पनि भनिएको विज्ञप्तिमा उल्लेख छ।अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?