नेपालमा कोरोना संक्रमण अपडेट: थप एकजनामा पुष्टि, ३६ हजार ७ सय १९ परीक्षण

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उदयपुरमा नयाँ केस पुष्टि भएको हो ।

उदयपुरका ति संक्रमित ३३ वर्षिय पुरुष हुन् । पछिल्लो संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।

यसअघि उदयपुरमा नै १३ जना संक्रमित पुष्टि भएर तिनको उपचार भइरहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणपछि निको भएर ४ जना घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर विधीमार्फत् हालसम्म ८ हजार ७ सय ६३ जनाको परिक्षण गरिएको छ ।

गत २४ घण्टामा ३ सय ३३ जनाको परीक्षण गरिएको छ । र्‍यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीबाट हालसम्म २७ हजार ९ सय ५६ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै २ हजार ८ सय ८ वटा नमूना जाँच गरिएको छ । यी सबै विवरण हेर्दा हालसम्म कोरोनाको आशंकामा ३६ हजार ७ सय १९ वटा परीक्षण सम्पन्न भइसकेका छन् ।

तिमध्ये र्‍यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीमार्फत् हालसम्म प्रदेश १ मा २ हजार ६ सय २० प्रदेश २ मा ३ हजार ५ सय ९८ बाग्मती प्रदेशमा ५ हजार १ सय ५७ गण्डकी प्रदेशमा ४ हजार १ सय प्रदेश ५ मा २ हजार ४ सय ८३ प्रदेश कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ७७ गरी हालसम्म कुल २७ हजार ९ सय ५६ वटा जाँच गरिएको छ ।

हालसम्म ७ हजार ६७ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै आईसोलेसनमा बस्नेको संख्या १ सय ७ रहेको छ । तिमध्ये काठमाडौंमा ६ र बाँकी १०१ जना बाहिरी जिल्लामा छन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार मन्त्रालयको कल सेन्टर ११ १५ र ११ ३३ मा पछिल्लो २४ घण्टामा मात्रै २ हजार १ सय ८५ वटा कल आएको र स्वास्थ्कर्मीले तिनको जवाफ दिएका छन् ।

उनले थपे, मन्त्रालयको वेव पेज र एपमार्फत् स्वमूल्यांकनको विवरण भन २१ हजार ५ सय ६६ जनामध्ये हालसम्म २ सय ६७ जना रेड जोनमा परेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २७५ जनाको विवरण राखिएकोमा ४ जना रेड जोनमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?