काठमाडौं । उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मद्रसाहरुमा अनुगमन थालेको छ ।
मुस्लिम आयोग आफैले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो । मंगलबार उपत्यकामा रहेका मस्जिदहरुमा अनुगमन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सहित मुस्लिम आयोगको टोलीले मंगलबार काठमाडौंको घण्टाघर स्थित मस्जिद र मद्रसामा अनुगमन गरेको हो । मस्जिदमा अनुगमन पछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदहरुमा जमातीहरु लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताए । उनले अनुगमनका क्रममा कोही पनि लुकेर बसेको नपाइएको बताएका छन् ।
दुवै ठाउँमा चार/चार जना धर्मगुरु, तीनका सहयोगी दुई/दुई जना र दुई/दुई जना कर्मचारी गरी आठआठ जना मात्र रहेको पाइएको मेयर शाक्यले बताए । कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उनले बताए ।
मेयर शाक्यले कोही लुकेर बसेको अवस्था भएमा गृह प्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन आग्रह समेत गर्नुभएको छ । अनुगमन पछि समेत कोही आउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उनले बताए ।
मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले उदयपुरको घटना पछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षिय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताए । हरेक मस्जिद र मद्रसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको बताउनुभयो । कुनैपनि मस्जिद वा मद्रसामा कोहीपनि लुकेर नबसेको उनले बताए । अझैपनि कोही छुटेको भए स्थानीय सरकारलाई जानकारी गराउन आयोगले समेत अपिल गरेको छ ।
गत शुक्रबार उदयपुरको एक मस्जिदमा बस्दै आएका १२ जना जमातीहरुमा कोरोना भाइरस संक्रमण फेला परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया