पिसिआर परीक्षणमा उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ, क्रस भेरिफाइको लागि स्वाब धरान पठाईयो

काठमाडौं । उदयपुरमा फेरि ८ जनामा कोरोनाभाइरसको आशंका गरिएको छ । उदयपुरको भुल्केबाट सोमबार परीक्षणका लागि कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएपछि यकिन गर्न फेरि धरान लगिएको छ ।

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलले अन्तिम रिपोर्ट आउन बाँकी नै रहेकाले विराटनगरकै रिपोर्टलाई आधार मान्न नसकिने बताए ।

उनका अनुसार त्यहाँको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि ल्याइएकोमा ८ जनाको रिपोर्ट शंकास्पद आएको हो ।

उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको बताइएको छ ।

गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको विराटनगरको कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?