सरकारको निर्देशन – सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब नकाट्नू !

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला ‘फ्रन्टलाइनमा’ खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको छ ।

‘कोभिड १९’ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा गरिने भन्दै सञ्चारमाध्यममा खबर आएपछि सामाजिक संजाल तथा संचारमाध्यम लगायतमा सरकारको आलोचना भएपछि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ ।

सरकारले गठन गरेको कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलबबाट भने ओहोदा अनुसार तीनदेखि ७ दिनसम्मको तलब कट्टा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?