ऊर्जामन्त्री पुनले गरे अलपत्र परेका ४ सय मजदुरको उद्दार

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले लामो लकडाउनका कारण उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन् ।

काभ्रेका विभिन्न स्थानबाट हिंडेर आएका ठूलो संख्याका मजदुरलाई सुरक्षाकर्मीले भक्तपुरको शंखरापुर नगरपालिकामा रोकिएको खबर पाएसँगै मन्त्री पुन आफैं त्यहाँ पुगेका थिए । काभ्रेका विभिन्न स्थानबाट पैदल हिंडेर राजधानी बाहिर जान आएका ३ सय मजदुरलाई सुरक्षाकर्मीले रोकेका थिए ।

मन्त्री पुनले आइतबार साँझ पानी परिरहेका बेला रुझेरै मजदुरहरुलाई बिदाई गरे । लकडाउनले अलपत्र परेकाहरुलाई ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको हो । त्यसरी पठाइएकामा रोल्पा, दाङ र सल्यानका मजदुर छन् ।

काभ्रेबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरलाई दुईवटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो ।

लामो लकडाउनका कारण रोजगारी गुमाउनु परेको र छाक टार्र्नै समस्या हुने गरेको भन्दै मजदुरहरु हिंडेर घर जान लागेका थिए । मन्त्री पुनले घर जान हिंडेर बीच बाटोमा अलपत्र परेकालाई गन्तव्यमा पु¥याउने सरकारको नीति र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मजदुरहरुको उद्दार गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?