पर्सा । पर्साको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा रहेको मस्जिदमा केही जमातीहरू आएर बसेको सूचना प्रहरीलाई दिँदा शनिबार बेलुकी दुई पक्षबीच झडप भएको छ । मौजेटोलमा मुस्लिम र हिन्दू पक्षबीच भएको झडपमा दुवै पक्षका गरी कम्तीमा १५ जना भन्दाबढी घाइते भएका छन् ।
जस मध्ये ८ जनाको अवस्था गम्भीर भएकोले घाइते हुनेहरूलाई वीरगंजको विभिन्न अस्पतालहरूमा भर्ना गराइएको छ। यस झडपमा घाइतेहरू फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट र बडिया राय भाट, चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी छन्।
स्थानीयहरूले दिएको जानकारी अनुसार वडासदस्य फकरुद्धिन अहमद देवानको नेतृत्वमा मौजेटोलमा रहेको मस्जिदबाट शनिवार बेलुकी केही व्यक्तिले स्थानीयहरूको घरमा ढुङगा, इँटा प्रहार गरेपछि त्यही विषयलाई लिएर झडप भएको हो ।
मस्जिदमा बाहिरका जमाती ल्याएर राखिएको भन्दै स्थानीय हिन्दूहरूले प्रहरीलाई खबर गरे पछि मस्जिदबाट र मस्जिद छेउछाउमा रहेका मुस्लिमहरूको घरबाट सबै जना निस्केर ढुङगा, इँटा हान्न थालेपछि स्थानीयले प्रतिवाद गर्दा झडप हुन पुगेको वडा अध्यक्ष रवि गुप्ताले बताए ।
झडपमा घाइते भइ नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले भने, “मस्जिदमा केहिदिन देखि बस्दै आएका बाहिरका जमातीलाई नराखौ भनेर आफूहरु जाँदा ढुङगाले हान्न थालिएपछि झडप भएको हो।”
झडपको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा आएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो ।
प्रहरीले झडपमा संलग्न रहेको आरोपमा स्थानीय नसुरलाह मियाँ सहित पांच जनालाई नियन्त्रणमा लिएको छ । ‘पांच जनालाइ नियन्त्रणमा लिएका छौं”, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भनिन्। यस विषयमा अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन्।
वडा अध्यक्ष रवि गुप्ताले गाँउमा समाजिक सदभाव बिथोल्ने नियत राखेका केही व्यक्तिका कारण दुःखद् घटना हुन पुगेको बताए। ‘मस्जिदमा बाहिरका केही जमातीहरू आएको र उनीहरू ओहर दोहर गरि रहेको थाहा पाए पछि प्रहरीलाई खबर गरेका हौं।
हामीले पहिल्यै प्रहरी बोलाएर मस्जिदमा खानतलासी गर्न भनेका थियौँ तर प्रहरीले ध्यान दिएन। उनले भने ,‘तर सामाजिक सद्भाव बिथोल्ने कुनियत राखेकाहरुका कारण घटना हुन पुग्यो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया