रुपन्देही । बन्दाबन्दीका समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन् । प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा पाँच बलात्कारका घटना भएका छन् ।
त्यसपछि कपिलवस्तुमा चार, गुल्मी र बाँकेमा दुईदुई तथा रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा एकएक घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए।
बन्दाबन्दीमा बर्दियामा जर्बजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । घटनामा संलग्नलाई पक्राउ गरी जर्बजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता पोखरेलले बताए ।
पछिल्लो एक हप्तामा रुपन्देहीमा तीन युवतीमाथि बलात्कार भएको उजूरी आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सैनामैना नगरपालिका तथा मर्चवारी र कञ्चन गाउँपालिकाका युवतीमाथि बलात्कार भएको हो ।
गत मंगलवार रुपन्देहीको सैनामैना १ मा १५ वर्षीयामाथि बलात्कार भएको हो । प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय मानबहादुर छहारीलाई पक्राउ गरेको छ ।
परिवारले दिएको किटानी जाहेरीका आधारमा सोही वडाबाटै छहारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। दिउँसो उनलाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको उनले बताए।
यस्तै चैत २९ गते सूर्यपुरा ९ मा बाबुले आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । एक वर्षदेखि बलात्कार गर्दै आएको बालिकाको बयानका आधारमा ४० वर्षीय उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही दिन मर्चवारीमा २२ वर्षीय युवतीमाथि बलात्कार भएको छ । बलात्कारका आरोपमा स्थानीयवासी १८ वर्षीय राजेश चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
सो अवधिमा घरेलु हिंसाका १२ मुद्दा दर्ता भएको प्रदेश प्रहरी प्रवक्ता पोखरेलले बताए। घरेलु हिंसाका उजुरी धेरै परे पनि मुद्दा कम दर्ता भएका छन् । सबैभन्दा धेरै बाँके र दाङमा चारचार, रोल्पामा दुई र पाल्पामा घरेलु हिंसाका एक मुद्दा दर्ता भएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया