धादिङ । कोभिड–१९ को महामारीबाट बचाउन गरिएको लामो बन्दाबन्दी (लकडाउन) पछि घर हिँडेका मजदुरलाई धादिङका स्थानीय सरकार र सामाजिक कार्यकर्ताले खाना र खाजा खुवाएर घरतर्फ पठाउन थालेका छन् ।
धादिङका विभिन्न स्थानलगायत काठमाडौं, ललितपुर, भक्तपुरबाट आफ्नो घर देशका विभिन्न स्थानमा जानका लागि हिँडेका मजदुर समस्यामा परेको देखेपछि राजमार्गमा कार्यालय रहेका स्थानीय तहको सरकार र सामाजिक अभियानकर्मीको सक्रियतामा उनीहरूलाई सहयोग गरिएको हो ।
धादिङ प्रवेशपछि नौबिसेमा स्थानीय सामाजिक कार्यकर्ताको सक्रियतामा बटुवा र खटिने सुरक्षाकर्मीलाई फलफूल खुवाइएको छ । मधुकुमार श्रेष्ठको सक्रियतामा फलफूल वितरण गरिएको हो । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि मजदुरी गर्नेहरु खाने समस्या परेका कारण लामो दूरी हिँडेरै घरतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि धादिङको थाक्रे गाउँपालिकाले स्थानीय युवाको सक्रियतामा महादेवबेँसीमा ५०० मजदुरलाई खाजा र पानी खुवाइएको छ । गजुरी गाउँपालिकाले आदमघाटमा १५० मजदुरलाई खाना खुवाएको छ । पैदलयात्री ३०० मजदुरलाई खाना, खाजा खुवाएको आदमघाटबाट विष्णु श्रेष्ठले जानाकारी दिए।
गजुरी बजारमा पनि गजुरी गाउँपालिकाले एक साताअघिदेखि पैदलयात्री मजदुरलाई खाजाको व्यवस्था गर्दै आएको थियो । यसबाट करिब ४०० मानिसले खाजा खाएको गाउँपालिकाका उपाध्यक्ष सीता ढुङ्गानाले जानकारी दिइन् ।
चरौँदीमा स्थानीय युवाको सक्रियतामा पैदल हिँडेका मजदुरलाई खाजा र पानीको व्यवस्था गरिएको छ । करिब ३०० मानिसलाई खाजा खुवाइएको हो । धादिङ प्रवेश गरेपछि जुन क्षेत्रमा मजदुरलाई स्थानीय सरकारहरुले फेला पार्छ त्यही स्थानीय सरकारले खाना खाजा खुवाउने र कुनै न कुनै सवारी साधनमा चढाएर पठाउन थालेका कारण राजमार्ग क्षेत्रमा मानिस हिँडेको नदेखिएको चरौँदीबजार निवासी राममणि थपलियाले जानकारी दिए।
यसैगरी धादिङको सिमाना जोडिएको चितवनको इच्छाकामना गाउँपालिकाले बटुवालाई खाना खाजा खुवाएर प्रहरीको सहयोगमा मजदुरलाई गाडी चढाएर घरतर्फ पठाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि सडकमा पैदलयात्री नभएको र कोही यो अवस्थामा भोकै बस्नु नपर्ने भन्दै स्थानीय सरकार सक्रिय भएका हुन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया