काठमाडौं महानगरका ४ सय ६४ जनाको र्‍यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा बसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको र्‍यापिड डाइनोस्टिक टेष्टलाई तिव्रता दिएको छ । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै सुरुमा काठमाडौं महानगरपालिकाको वडा नम्बर–५ का ३९ जनाको र्‍यापिड डाइनोस्टिक टेस्ट गराएको थियो ।

दोस्रो दिन वडा–४ मा ५१ जनाको टेष्ट गरेको महानगरपालिकाले शुक्रबारसम्म ८ वटा वडाका ४ सय ३ जनाको ¥यापिड डाइनोस्टिक टेस्ट गरेको थियो । आजसम्म ४ सय ६४ जनाको टेष्ट गरेको छ ।

काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार आज भित्री शहरमा १८, १९, २०, २१, २२, २३, २४, २९ गरी ८ वटा वडाका ७८ जनाको टेष्ट गरिएको छ । बसन्तपुर डवलीमा सामाजिक दूरी कायम गरी टेष्ट गरिएको थियो ।

आज गरिएको टेष्टमा ७८ जनाकै रिपोर्ट नेगेटिभ आएको बज्राचार्यले जानकारी दिए । उनले वडा–१२, १३ र १४ को टेष्ट भोलि (आइतवार) गर्ने बताए ।

त्यसैगरी शुक्रवार एकै ठाउँमा ९, १०, ३१, ३२ वडाको टेष्ट गरिएको थियो । जहाँ २ सय ४८ जनाको टेष्ट भएको थियो । त्यस्तै वडा–१५ का ४८ जनाको पनि टेष्ट हिजै भैसकेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले २०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको संका लागेकालगायतका व्यक्तिहरुको संक्रमणको अवस्था पत्ता लगाउन ३२ वटै वडामा यस प्रकारको परीक्षणलाई तिव्रता दिएको जानकारी दिए ।

उनले विदेशबाट फर्किएकाहरुको तथ्याङ संकलन गरिरहेको पनि जानकारी दिए ।

आज बसन्तपुर डवलीमा गरिएको र्‍यापिड डाइनोस्टिक टेष्टको अवलोकन गर्न संघीय सांसद् कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रदेश सांसदहरु डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्य, उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) सम्बन्धित वडाका अध्यक्षलगायत पनि पुगेका थिए । सांसद जीवनराम श्रेष्ठले कोरोना रोकथाम र नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।

उनले अहिले सबै भन्दा पहिलो दायित्व भनेको मान्छेलाई बचाउने रहेको भन्दै जहाँ–जहाँबाट सकिन्छ त्यहिँ–त्यहिको बजेट परिचालन गरेर भए पनि कोरोनाविरुद्धको अभियानमा जुट्नु पर्ने बताए । ‘सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको छ, यो सकारात्मक छ,’ उनले भने, ‘काठमाडौं महानगरपालिका भित्र पनि यो रोगको नियन्त्रण र संक्रमणबाट महानगरवासीलाई बचाउनका लागि महानगरपालिका सक्रिय रुपमा लागेको छ । यो पनि सकारात्मक छ । अहिले र्‍यापिड डाइनोस्टिक टेष्टको अभियान महानगरपालिककै नेतृत्वमा भैरहेको छ । यो झन सकारात्मक छ । यसलाई अझ व्यापक रुपमा लैजानुपर्छ । ’

त्यसैगरी प्रमुख शाक्यले पनि पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर २०७६ फागुन १८ पछि विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका महानगरवासीको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्नेलगायतका कार्य गरेको भन्दै र्‍यापिड डाइनोस्टिक टेष्टलाई तिव्र रुपमा अघि बढाएको बताए ।

‘अहिले हामीले पहिलो प्राथमिकता विदेशबाट आएर महानगरभित्र बसोवास गर्ने र उहाँहरुको सम्र्पकमा आएकालाई दिएका छौँ,’ उनले भने, ‘कोरोना संक्रमणको आशंकामा रहेकाले पनि म कोरोनामुक्त छु भनेर ढुक्क हुने प्रमाणपत्र प्राप्त गरोस भनेर भनेर यो टेष्ट गरिरहेका छौँ । उहाँहरुको सकिएपछि जनप्रतिनिधि, कर्मचारीलगायतको पनि परिक्षण गर्ने तयारी छ ।’ उनले कतै त्यस्ता व्यक्ति देखिए, भेटिए वा सम्पर्कमा भए जानकारी दिन पनि आग्रह गरे ।

प्रदेश सांसद राजेश शाक्यले पनि केन्द्र, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा कोरोना नियन्त्रण र रोकथामका प्रयास भैरहेको भन्दै सबैलाई यसविरुद्धको लडाईँमा एक भएर लाग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?