अन्ततः लकडाउनमा कडा बन्यो सुर्खेत प्रशासन

सुर्खेत । कोरोना भाइरस संक्रमणको डरले गरिएको लकडाउन कार्यान्वयनमा सुर्खेत प्रशासन कडा बनेको छ । प्रदेश राजधानीसमेत रहेको तथा बसोवास र आवतजावत धेरै हुने भएकोले पनि सुर्खेतमा लकडाउन धेरै उल्लंघन भएको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रशासन कार्यालयले सुर्खेतले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गराउने भएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको संयोजकत्वमा शनिवार बसेको सुरक्षा संयन्त्र सहित सरोकारवालाको बैठकले प्रदेश राजधानी वीरेन्द्रनगरमा लकडाउन अवधिभर अत्यावश्यक सामान र खाद्यान्न हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार बिहान ७ देखि ९ बजेसम्म विक्रि गर्न सुर्खेत उद्योग वाणिज्य संघले सहजिकरण गर्ने निर्णय गरेको छ ।

बैठकले बिरामीको कुरुवा एक जनामात्र जानुपर्ने निर्णय गरेको छ । बजारलाई व्यवस्थापन गर्न प्रत्येक वडामा वडाअध्यक्षसहितको समिति बनाउने निर्णय उक्त बैठकले गरेको छ ।

कोरोना भाइरस सम्बन्धि कुनै पनि जानकारी आधिकारीक निकायबाट नआएसम्म समुदाय, मिडिया र सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारवाही गर्ने निर्णय भएको बैठकमा प्रदेश सुरक्षा संयन्त्रका विभिन्न पदाधिकारी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कंडेलको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?