निको भएपछि नेपालकी दोस्रो कोरोना संक्रमित युवतीको सुझाव – आईसोलेसन बस्न नहिच्किचाऔँ

काठमाडौं – नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएकी छिन् । आफू निको भएर डिस्चार्ज हुँदै गर्दा उनले अन्तर्वार्तामार्फत आईसोलेसन र क्वारेन्टाईन बस्न हिच्कीचाहट नमान्न सबैसँग अनुरोध गरेकी छिन् ।

गत वर्ष चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनमा चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएर २७ दिनको उपचारपश्चात् निको भएर शनिबार काठमाडौंस्थित टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हुँदा दिएको अन्तर्वार्तामा उनले आफूले सावधानी अपनाएका कारण परिवारका अरु सदस्यमा नसरेकोले सबैले सामाजिक दूरी कायम गर्न समेत अनुरोध गरेकी छिन् ।

प्रश्नकर्ताले सोधेको चिकित्सक र कर्मचारीको व्यवहार कस्तो रह्यो भन्ने प्रश्नमा उनी भन्छिन्, “उहाँहरुले मलाई निक्कै राम्रो हेरचाह र उपचार गर्नुभयो ।” चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको कारण आफू ठिक भएको उनको भनाई छ ।

उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएकी आफ्नी भियतनामको साथीमा कोरोना सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको उनले थाहा पाईन् ।
गत फागुन ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि उपचारपछि स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन् ।

नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् । बाँकी २८ जनाको उपचार भइरहेको छ ।
नेपालमा हालसम्म आईसोलेसनमा २ सय २५ जना उपचाररत छन् ।

यसअघि :

नेपालको दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन् 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?