झापा । झापाको अर्जुनधारा नगरपालिका–५ निवासी ज्ञानबहादुर भारतीले ३५ बिघा क्षेत्रफलमा लगाएको उखु समयमा बिक्री गर्न नपाउँदा चिन्तित छन् ।
उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा उखुका बोट (लाक्रा) सुक्न थालेसँगै उनमा चिन्ता थपिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन लम्बिँदै जाँदा आफूले उत्पादन गरेको ग्यामेरा प्रजातिको जुस बनाउने उखु बिक्री गर्न नपाएको भारतीले बताए।
“उखु काट्ने समयमा एक महिनासम्म बन्द हुँदा उखुका लाक्रा खेतमै सुके”, उनले भन्नुभयो, “३५ बिघा क्षेत्रफलमा लगाएको उखु काटेर फाल्न पनि अब सक्ने अवस्था रहेन, लकडाउनले मजदुरसमेत पाइँदैन ।” “उखुखेतीबाट झण्डै ४० लाख रुपैयाँ आम्दानी गरौँला भन्ने थियो । अब त आस हराउँदै गयो, अझ दुई चारदिन लकडाउन लम्बिने हो भने उखु बारीमा आगो छाड्दा हुन्छ”, भारतीले भने ।
उखुखेतीका लागि ३०÷३५ लाख रुपैयाँ लगानी भएको छ, अब लगानी कसरी उठाउने उनले दुखेसो पोखे । लामो समयदेखि व्यवसायिक उखुखेती गर्दै आएका भारती झापामा जुस बनाउने उखुखेती गर्ने पहिलो कृषकका रूपमा चिनिन्छन् । उनले विसं २०४८ अघिदेखि उखुखेती गर्दै आएका छन् । जुसका लागि उनले उत्पादन गरेको उखु झापाका बजारसहित काठमाडौँ, पोखरासम्म पुग्ने गरेको थियो । तर, लामो समयसम्म मुलुक लकडाउन हुँदा उनले समयमा उखु बिक्री गर्न सकेनन् ।
अर्जुनधाराकै कतिपय कृषकले समयमा उखु बिक्री गर्न नसकेर बगानमै आगो लगाएको भारतीको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया