म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका दुई पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ ।
घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका दुई पर्यटकलाई उद्धार गरेका हुन् । तीमध्ये एक पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ ।
स्थानीय होटल व्यवसायीले बन्दाबन्दीको समयमा आएका पर्यटकलाई बिहीवार प्रहरीको जिम्मा लगाएका थिए । पी ०४०४३९५२ नम्बरको पासपोर्ट भएका गुसङ हुन (पुरुष) र जी ५१५३५५७६ नम्बरको पासपोर्ट भएकी सुनफिन लिअङको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।
सन् २०२० मार्च १० तारिखका दिन पोखरा प्रवेश गरेका उनीहरु कास्कीको घान्द्रुक हुँदै घोडेपानी आइपुगेका हुन् । घोडेपानीबाट उनीहरुलाई भुरुङ तातोपानीको सर्वोदय माविको भवनमा अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।
एकान्तवासमा खानेबस्ने व्यवस्था र स्वास्थ्य परीक्षण गरेर चिनियाँ राजदूतावासको जिम्मा लगाइने प्रहरीले जनाएको छ । यसअघि लकडाउनकै अवधिमा अन्नपूर्ण गाउँपालिका–१ बेगमा दुई चिनियाँ र बेनी नगरपालिका–६ गुफाबाट एक दक्षिण कोरियाका पर्यटकको उद्धार गरिएको थियो ।
नेकपाको सहयोग
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका मजदुरको राहत व्यवस्थापन गर्न रु दुई लाख ५७ हजार ८३३ सहयोग गरेको छ ।
मजदुर तथा निम्न वर्गका प्रभावित जनतालाई राहत वितरणमा थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले कोषको खातामा रकम जम्मा गरेको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
नेकपा म्याग्दीका नेता, कार्यकर्ता र शुभचिन्तकबाट स्वेच्छिकरूपमा आर्थिक सहयोग जुटाएर विपद् व्यवस्थापन समितिलाई सहयोग गरेको हो ।
गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका निम्न वर्गका समुदाय प्रभावित भएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया