नेपालमा कोरोना अपडेट : संक्रमित सबैको अवस्था सामान्य, ९० जना आईसोलेसनमा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका हालसम्म भेटिएका सबै १६ जना संक्रमितको अवस्था सामान्य भएको जनाएको छ । आज भएको नियमित पत्रकार सम्मेलनमा हालसम्म कोरोना भाइरस कोभिड १९ का १६ जना संक्रमितमधये १ जना निको भएर घर फर्किएका र बाँकी १५ जना संक्रमितको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् ।

हालसम्म नेपालमा दुईओटा प्रविधिबाट जाँच गरिएको छ । डाक्टर देवकोटाका अनुसार पिसिआर प्रविधीबाट हालसम्म ७ हजार ६ सय ८८ वटा नमूना जाँच गरिएको छ । त्यस्तै र्‍यापिड डाईग्नोष्टिग टेष्ट आरडिटीबाट हालसम्म १६ हजार ५ सय ६५ जनाको टेष्ट भएको छ । हालसम्म २४ हजार २ सय ५३ जनाको टेष्ट गरिएको छ । गत २४ घण्टामा मात्रै ४ हजार ८ सय २२ जनाको नयाँ टेष्ट भएको छ ।

प्राप्त जानकारी अनुसार हालसम्म ७५ जिल्लामा यो टेष्ट सुरु भएको छ । अब सोलुखुम्बु र डोल्पामा जाँच गर्न बाँकी छ ।
हालसम्म ४ हजार ६ सय ७ जना क्वारेन्टाईनमा बसेका छन् भने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका ९० जना आईसोलेसनमा छन् । उनीहरुमध्ये ५ जना काठमाडौंमा छन् भने ८५ जना बाहिर जिल्लामा छन् । त्यस्तै मन्त्रालयको कल सेन्टरमा हालसम्म २६३२ वटा जिज्ञाशा आएकोमा सम्बोधन गरिएको छ ।

त्यस्तै मन्त्रालयको मोबाईल एप र वेव पेजमा दिइएको जानकारी अनुसार हालसम्म आफ्नो स्वास्थ्यको स्वमूल्यांकनको लागि १८ हजार २ सय ८ जनाले आफ्नो विवरण भरेकोमा हालसम्म २ सय ५१ जना रेड जोनमा परेको छन् ।

गत २४ घण्टामा मात्रै ५७८ जनाले आफ्नो विवरण भरेकोमा जम्मा २ जना रेड जोनमा परेका छन् । यो भनेको संभावितसंक्रमित भएकोले उनीहरुको संम्भावित टेसिङ र विवरण संकलन तथा जाँचका अरु तारतम्य मिलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?