फेरियो ट्रम्पको दाबी, भन्छन् – नयाँ ‘गाइडलाइन्स’ घोषणा गर्छु

काठमाडौं – अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका कोरोना भाइरसको सबैभन्दा नराम्रो अवस्था गुज्रिसकेको दाबी गरेका छन् ।

यसअघि कोरोना संक्रमितको संख्या घट्दै जाने दाबी गरेका उनले पछिल्लोपटक पत्रकार सम्मेलनमा कोरोना भाइरसले अमेरिकमा आफ्नो चरम सीमा पार गरिसकेको दाबी गर्दै अर्थव्यवस्था सुचारुका लागि बिहीबार ‘गाइडलाइन्स’ घोषणा गर्ने पनि बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले भने, “हाम्रो आक्रामक रणनीतिले काम गरिरहेको प्रमाणित भइसकेको छ । लडाइँ जारी छ तर हामीले राष्ट्रिय स्तरमा कोरोनाका नयाँ मामिलाको शिखर पार गरिसकेको डाटाले देखाएको छ ।”

यसअघि अमेरिकामा अब कोरोना संक्रमितको संख्या घट्दै जाने ट्रम्पको दाबी उल्टियो । अहिले विश्वभरमा मृतक संख्या हेर्ने हो भने अमेरिका पहिलो नम्बरमा छ । पछिल्लो २४ घण्टामा मात्रै २ हजार ४ स य ८२ जना मृतक थपिएका छन् । संक्रमित बुधबार ३० हजार २ सय ६ थपिए । हालसम्म २८ हजार ५ सय २९ जना गुमाएको अमेरिकामा ६ लाख ४४ हजार ८९ जना संक्रमित छन् ।

“यी प्रोत्साहित गर्ने घटनाक्रमले हामीलाई यस्तो मजबुत स्थितिमा ल्याएको छ कि हामी देशलाई फेरि खोल्नका लागि गाइडलाइन्सलाई अन्तिम रूप दिन सक्छौं,” उनले भने ।

ह्वाइटहाउसका कोरोना भाइरस रेस्पोन्स कोर्डिनेटर डा. डी. ब्रिक्सले नौ राज्यहरुमा एक हजारको हाराहारीमा संक्रमित रहेको जानकारी दिए । यद्यपि, ट्रम्प देशका झण्डै ३० राज्य राम्रो अवस्थामा फर्किन सक्ने दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समुदायलाई चीन सरकारले कोरोना भाइरसबारे झुटो जानकारी दिएको भन्दै त्यसको दुष्परिणाम भोग्न तयार रहन चीनलाई चेतावनी दिएका थिए ।

कार्यक्रममा पत्रकारले राष्ट्रपति ट्रम्पलाई चीनबाट कोरोना फैलिएको र चीनले झुटो विवरण पेस गरेको भए कसैले चीनलाई किन कारवाही गर्न सकेको छैन भन्ने प्रश्न गरेका थिए ।

पत्रकारको उक्त प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘तपाईलाई कसरी थाहा भयो कि, चीनले विश्वलाई दिएको झुटो जानकारीलाई लिएर कारवाही हुन सकेको छैन रु चीनले उक्त दुष्परिणाम भोग्न तयार भए हुन्छ, त्यसको कारवाही चीनले भोग्नै पर्दछ ।’

त्यसपछि उनले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?