स्वास्थ्य मन्त्रालयले भन्यो – पेप्सीकोलाका कोरोना संक्रमित ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमित ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चैतको पहिलो हप्ता बेलायतबाट नेपाल आएर सोही अपार्टमेन्टमा बस्दै आएका उनीहरु तीन जनाको स्वाब संकलन गरी थप परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सोमवार एकै फ्ल्याटमा बस्ने तीन जनामा गरिएको र्‍यापिड टेस्टमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै पाटन अस्पताल भर्ना गरिएको थियो। एक जनाको भने रिपोर्ट आउन बाँकी नै छ।

उनीहरु सो अपार्टमेन्टको ब्लक ए को १६ औं तल्लामा बस्दै आएका थिए ।

यस्तै सो अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमण परीक्षण सुरु भएको छ । उक्त अपार्टमेन्टमा बस्नेमा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने व्यक्तिहरुमा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच प्लानिङस्थित सनसिटी अपार्टमेन्ट दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कागेश्‍वरी मनोहरा नगरपालिकाले सनसिटी त्यस क्षेत्रमा पसल सञ्‍चाललनको समय तोकेको छ। कागेश्‍वरी नगरपालिका ९ मा रहेका अत्यावश्यक खाद्यन्‍न पसल, डेरी र तरकारी पसल मात्रै बिहान ४ बजदेखि ८ बजेसम्म खोल्ने निर्णय गरिएको हो। अहिले सनसिटी परिसरलाई सिल गरेर हाल प्रहरी परिचालन गरिएको छ। त्यहाँ उच्च सर्तकता बढाइएको छ ।

संक्रमित आमा र छोरा भएको बुझिएको छ । ५८  वर्षीय छोरामा संक्रमण पुष्टि भएपनि उनकी श्रीमतीको रिपोर्ट आउन बाँकी छ।
उनीहरुलाई ललितपुरको पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।

यसैबीच सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले लकडाउनको समय वैशाख १५ गतेसम्मको लागि लम्ब्याउने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।
कोरोना भाइरस संक्रमितको संख्या धमाधम देखिन थालेपछि अन्य विकल्प नभएपछि सरकारले लकडाउनलाई नै निरन्तरता दिएको हो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेदेखि १८ गतेसम्म एक साताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो । त्यस पछि फेरि संक्रमितको संख्या बढेपछि सरकारले चैत २५ गते सम्म थपेको थिए । त्यस्तै सरकारले चैत २४ गते संक्रमितको संख्यालाइ मध्यनजर गर्दै लकडाउनको अवधी वैशाख ३ सम्म पु(याएको थियो ।

यो समाचार तयार पार्दासम्म हालसम्म विश्वमा कोरोनाका कारण १ लाख २० हजार ७४ जनाको मृत्यु भएको छ भने १९ लाख ३० हजार ९ सय ७५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै हालसम्म नेपालमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित एक जना उपचारपछि निको भइ घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?