वीरगञ्जको छपकैया क्षेत्र गरियो शिलबन्दी

काठमाडौं । आइतवार वीरगञ्ज महानगरपालिकामा भारतबाट आएका तीन जनामा कोरोना संक्रमण देखिएसँगै शिलबन्दी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकले वीरगञ्ज महानगरपालिका २ को छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गर्ने निर्णय गरेको छ ।

महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा न्यूनिकरणका लािग शिलबन्दी जरुरी देखिएकोले छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरु समेत समेटिने गरी शिलबन्दी गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

साथै उक्त बैठकले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर उनीहरुको र्‍यापिड टेष्ट किटमार्फत परीक्षण गर्ने निर्णय गरेको छ ।

त्यस्तै संक्रमितको संसर्गमा आएका व्यक्ति र गएका स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको कामलाई तीब्रता दिने निर्णय पनि गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् । भने तीन जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुसँग संसर्गमा आएका मानिसहरुको पनि र्‍यापिड टेष्ट शुरु गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको १२ जनामा संक्रमण रहेको छ । जसमध्ये ९ जना नेपाली रहेका छन् भने ३ जना भारतीय हुन् । भने विश्वमा यो समाचार तयार पार्दासम्म १७ लाख ७९ हजार भन्दा बढि मानिसमा संक्रमण फैलिएको छ । भने १ लाख १० हजार भन्दा बढि मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?