काठमाडौं – पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका २४ जनासहित थप ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएकोमा तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको मन्त्रालय सम्बद्ध स्रोतले बतायो ।
१३ दिनदेखि वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएको बुझिएको छ ।
यसअघि नेपालमा ९ जना नेपालीमा कोरोना भाइरस ‘कोभिड -१९’ पोजेटिभ देखिएको छ । ति मध्ये एकजना स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने बाँकी ८ जना संक्रमितको उपचार भइरहेको छ। जसमा चार जना धनगढीमा, दुई जना बाग्लुङ र दुई जनाको टेकुमा उपचार भइरहेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म ४ हजार ४ सय २६ जनाको नमूना परिक्षण भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार गरेको नियमित पत्रकार सम्मेलनमार्फत गत २४ घण्टामा ८ सय ९७ जनाको नमूना परिक्षण थप भएको जानकारी दिईएको थियो । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म ८ हजार ८२ जना नेपाली क्वारेन्टाईनमा छन् ।८२ जना आईसोलेसनमा छन् । हालसम्म जम्मा १ सय ८९ जना ‘रेड जोन’मा परेका छन्।
यो समाचार तयार पार्दासम्म विश्वभर १७ लाख ८० हजार ३१५ जनामा संक्रमण देखिएको छ भने १ लाख ८ हजार ८२८ जनाको मृतयु भएको छ । त्यस्तै ४ लाख ४ हजार ३१ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया