नगर गौरवका आयोजनाको रकम राहतमा, नगरमा बसोबास गर्ने सबैलाई राहत बाँड्दै

  • एलपी पौडेल

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकाले नगर बाहिरबाट आएका र अहिले नगरपालिकाभित्र बसोबास गर्ने नागरिक र विद्यार्थीहरुलाई पनि राहत बाँड्ने भएको छ । कोरोना भाइरसका कारढ सरकाले देश नै लकडाउन गरेसँगै सबै चिज ठप्प छन् ।

यसभन्दा अगाडि राहत पाउन नगरकै वासिन्दा हुनुपर्ने थियो । नगरपालिकाले यसभन्दा अघि ६ हजार परिवारलाई राहत वितरण गरिसकेको छ ।

नगर गौरवका आयोजनाबाट ८० लाख रुपैंया काटेर नगरमा ज्याला मजदुरी गर्ने र विद्यार्थी परिवारलाई अत्यावश्यकीय राहत उपलब्ध गराउने बुधवार बसेको बैठकले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्र बाहिर स्थायी ठेगाना भई वीरेन्द्रनगर नगरपालिका भित्र अस्थायी बसोबास गर्ने बासिन्दा मध्ये दैनिक ज्याला मजदुरी गरी साँझ विहान छाक टार्नुपर्ने र बन्दको कारणले साँझ विहान न्यूनतम् खाद्यान्न व्यवस्था गर्न नसकेका अति विपन्न मजदुर तथा विद्यार्थी परिवारहरुलाई न्यूनतम् खाद्यवस्तु दाल, चामल, नुन तेल, उपलब्ध गराउने निर्णय गरेको छ ।

जसका लागि नगरस्तरीय विभिन्न १६ वटा योजनाहरुबाट प्रति योजना पाँच पाँच लाखको दरले कटौती गरी जम्मा रकम ८० लाख बिनियोजन गरी कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रकमान्तर गरी खर्च गर्ने निर्णय गरेको छ ।

राहत पाउनका लागि राहत प्राप्त गर्ने लाभग्राहीको विवरण सम्बन्धित घरधनी तथा टोल बिकास सँस्थाको सिफारिसमा वडा कार्यालय मार्फत प्राप्त गरी सबै वडा कार्यालयले राहत वितरण पश्चात सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण समेत गर्ने व्यवस्था मिलाउने उनले बताए । उनले मापदण्ड विपरीत सिफारिस नगर्ने घरबेटीला कारवाही गरि राहत असुलउपर समेत गरिने बताए ।

एक महिनाको घरभाडा मिनाहा गर्न अनुरोध

नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले नगरपालिका अन्तर्गतका आफ्नो घर बहालमा दिएका सबै जनप्रतिनिधीहरुले २०७६ चैत्रको एक महिनाको घर भाडा मिनाह गर्ने निर्णय गरेको जानकारी दिईन । साथै नगरपालिका भित्रका सबै घरधनिहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न घरधनिहरूलाइ अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण सरकारले गएको चैत ११ गतेदेखि वैशाख ३ गतेसम्मका लागि देश लकडाउन गरेको छ ।

लकडाउनका कारण सबैको पेसा व्यवसाय ठप्प रहेकाले घरभाडा तिर्न समस्या पर्ने भन्दै नगरपालिकाले यस्तो अनुरोध गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?