प्रहरीले बझाङका ४ जना जनप्रतिनिधिलाई पक्राउ गर्यो , यस्तो छ कारण

प्रहरीले बझाङबाट ४ जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ ।
लकडाउनको उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा छविसपाथीभेरा गाउँपालिकाका चार जना वडाध्यक्ष रहेका छन् । अन्य ५ जनालाई पनि पक्राउ परेका छन् । बुधबार साँझ पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
लकडाउन उल्लंघनको अभियोगमा अन्य केही व्यक्तिको पनि खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनका अनुसार पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको र लकडाउन उल्लंघनमा दोषी पाइएमा संक्रमक रोग ऐन २०२० अनुसार कारबाही गरिने छ ।
पक्राउ पर्नेमा छविसपाथीभेरा २ का वडाध्यक्ष विकास अयडी, ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नं ४ का अध्यक्ष अमर थापा र ५ का वडाध्यक्ष लोकेन्द्र ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालयका बझाङका इन्सपेक्टर तथा सूचना अधिकारी नेत्र बोहराले जानकारी दिए । पक्राउ परेका अन्यमा बान्नीकी चैतली मेला व्यवस्थापन गरिरहेका बान्नी मष्टा मन्दिर संरक्षण समिति कोषाध्यक्ष राजेन्द्रबहादुर सिंह, बान्नी मष्टाका पुजारी नृपराज जोशी र जयकृष्ण जोशी छन् । यस्तै बान्नी मष्टा मन्दिरका फूलपाती सेवक डम्मर धामी, मन्दिरका रजवार इन्द्रबहादुर सिंहलाई पनि लकडाउन उल्लंघनको अभियोगमा पक्राउ गरिएको बोहराको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?