लकडाउनको व्यस्तता : फेसबुकबाट संसार चिहाउँदा

इश्वी संवत् २०१९ को अन्त्यतिर चीनको उहान राज्यबाट उत्पन्न भएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वका २०६ भन्दा बढी राष्ट्रहरूमा फैलिइसकेको छ । विश्वमहामारीको रूप लिएर फैलिएको उक्त भाइरस यो सामाग्री तयार पार्दासम्म १४ लाख ४७ हजार ४ सय ७१ मानिसमा संक्रमित भइसकेको छ । यसका साथै ८३ हजार ४ सय १ हजार जना मान्छेले यही एउटा रोगका कारणले यो छोटो समयावधिमा मृत्युवरण गरिसकेका पीडादायी वेदना छन् । आर्थिक, प्राविधिक या त यान्त्रिक विकासका हिसाबले सर्वशक्तिमान कहलिएका राष्ट्रहरू पनि आलाप–विलाप गर्दै मानवीय सहयोगको याचना गरिरहेका छन् ।

आखिर मानवीय अस्तित्व रक्षाको भयमा एउटा विषाणु नै भयङ्कारी बनिदिएको छ । संक्रमणको वृद्धिदरको तथ्याङ्कले हामीलाई भयभित तुल्याइरहेको छ । दिन दुगुना रात चौगुना बढेको नरसंहारको आँकडाले आज संसार आक्रान्त छ । यस्तो गम्भिर संकट टार्ने एउटै उत्तम उपाय भनेको मानिस–मानिसको दुरी टाढा बनाउने तथा डाक्टरहरूको उचित सुझावलाई ग्रहण गर्नेभन्दा अरूकेही नभएको पनि पुष्टि भएको छ ।

मानव जातिको अस्तित्व नै संकटमा पार्ने गरी विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नको लागि नेपाल सरकारले चैत्र ११ गते अर्थात् आजभन्दा १६ दिन अगाडिदेखि अत्यावश्यकीय सेवाहरूबाहेक पूर्ण रूपमा निषेधित नियम अर्थात् लकडाउन (एकान्तवास) लाई अवलम्बन गरेको छ । एउटा मान्छे एक मिनेट रोकियो भने संसारको गति नै रोकिन्छझैँ गरी आ–आफ्नै दौरानमा दौडिने मानव समुदाय आज १६ दिनदेखि घरभित्रै बस्न बाध्य भएको छ । विकासको चरम गतिसँगै मेसिनझैँ बनेको मानव समुदाय नै यसरी आन्तरिक नजरबन्दमा रहँदा प्रकृति जगत् धुवाँधुलोविहीन भई आफ्नो सुन्दर मुहारमा हाँसिरहेको छ । वसन्त ऋतुको सुमधुर हरियालीया चराचुरुङ्गीहरू स्वच्छन्द विचरण गर्न पाइरहेका छन् । माया–प्रेममा रमाउँदै आफ्नै संसारमा खेलिरहेका छन् ।

सेकेन्ड सेकेन्डको समयबोध गरी आ–आफ्नो कार्यक्षेत्रमा दिनरात खटिरहने मानव समुदायका लागि यो समय यस युगकै अनौठो अनुभूतिलाई अभ्यास गर्ने क्रिडास्थल बनेको छ । वर्षौँदेखि परिवारसँग भेट गर्न नपाएका कतिपय चाहिँ यस समयमा घर परिवारसँगै बस्ने सौभाग्य मिलेको अनुमान गर्दै होलान् । धन्न प्रविधिको विकाससँगै नेपालका प्रायः जसो भूभागमा नेट–इन्टरनेट चल्ने भएको हुनाले ताजा समाचार सुन्न र देश–विदेशका खबर हेर्न पाइएको छ । सायद विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल ‘फेसबुक’(मुहारपुस्तिका) भएकैले आज विश्वका जुनसुकै कुनाका मान्छेसँग सम्पर्क गर्न वा ताजा जानकारी लिन सकिन्छ । मलाई लाग्छ, यो लकडाउनको समयमा नेपालीहरूले सबैभन्दा बढी समय बिताउने माध्यम ‘फेसबुक’ नै बनेको छ ।

म पनि १६ औं दिनदेखि आम मानिसझैँ घर बाहिर ननिस्की ‘संक्रमण हुनबाट बचौँ र बचाउँ’ भन्ने मूल मन्त्रलाई पालना गरी घरभित्रै छु । घरवासको समयलाई ऊर्जावान् र मूल्यवान् बनाउन पारिवारिक गफगाफ, आत्मियता, अध्ययन, अनुसन्धान र लेखनमै समय बिताउने गरेको छु । यसका साथसाथै फेसबुक पनि निकै प्रिय साथी बनेको छ । घरभित्रै बसेर पनि हामीले यतिबेला विश्व हेरिरहेका छौँ । विश्वमा कहाँ के भयो भनेर पढिरहेका छौँ । कसले के गर्दै छ ?, कसले के लेख्दै छ ?, कसले के खाँदै छ ? भनेर हामी फेसबुक मार्फत नै जानकारी प्राप्त गरिरहेका छौँ । यसलाई नै विषय बनाएर मेरा फेसबुकमा भएका ५ हजार साथीमध्ये केही उदाहरणीय व्यक्तित्वहरूको फेसबुक स्टाटस र फोटाहरूबाट बुझिने उहाँहरूको लकडाउन (घरवास) को व्यवहारलाई “फेसबुकबाट संसार चिहाउँदा” शीर्षकमा छोटो आलेख तयार पार्ने कोसिस गरेको छु । जसले बाँकी घरवासलाई सहज बनाउन ऊर्जा प्रदान गर्ने आशा गर्छु ।

प्रा.डा. शम्भुप्रसाद जमरकट्टेल (काठमाडौं)

लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी अवकाशप्राप्त समाजशास्त्री तथा मानवशास्त्री प्रा.डा. शम्भुप्रसाद जमरकट्टेलको विगत १५ दिनदेखिको फेसबुक स्टाटस हेर्दा लाग्छ– उहाँ एक कुशल कवि हुनुहुन्छ । विभिन्न कलेजमा प्राध्यापन तथा एनजिओ, आइएनजिओमा कार्यरत समाजशास्त्री जमरकट्टेल काममा अति व्यस्त हुने पात्रहरू मध्येमा एक हुनुहुन्छ । तर, यतिबेला भने उहाँको दैनिकी फेरिएको छ । लकडाउन (एकान्तवास) को सुरुका दिनदेखि नै घर परिवार र आफ्नो नित्य कर्मको अलावा उहाँ कविता लेखिरहनु भएकोछ । दिन ढल्न नपाउँदै प्रत्येक दिन फरक–फरक स्वाद र बिम्वका कविता सम्प्रेषण गर्दै सबैलाई ऊर्जावान् र रोमान्टिक बनाइरहनु भएको छ । लकडाउन अगाडि फेसबुक स्टाटसमा एउटा पनि कविता पोस्ट नगर्नुहुने जमरकट्टेलले लकडाउन पछाडि दिनदिनै रोचक र प्रेरणादायी कविता पस्कनुले उहाँको घरवास कविता सृजनाको सुन्दर क्षण बनेको देखिन्छ ।

डा. देवी नेपाल ( भक्तपुर )

सदैव साहित्यिक सभा, सम्मेलन, गोष्ठी र अध्ययन भ्रमणमा व्यस्त रहने प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा वरिष्ठ साहित्यकार डा. देवी नेपाल लकडाउनको सुरुवातीदेखि नै पूर्ण गुप्तवासमा बस्नुभयो । उहाँको मुहारपुस्तिकाको वालमा नयाँ कुरा केही आयो कि भनेर हेर्दा चौधौँ दिनसम्म केही देखिएन । १५ औँ दिनका दिन आफ्नै निजी पुस्तकालयमा अध्ययन गर्दै गरेको भव्य फोटोसहितको स्टाटस आयो–
“लकडाउनको सदुपयोग ! लकडाउनको पूरै अवधि थोरै सिर्जना कार्य र धेरै अनुसन्धान कार्यका लागि छुट्याउने निधो गरेर गुफा पसेको पन्ध्र दिनमा धेरै काम पो गरिँदो रहेछ त !” थुप्रै झर्को लाग्दा स्टाटस हेर्दाहेर्दा थकित नेत्रहरू कविजीको यो स्टाटस देखेपछि पुनः अर्को एउटा युगलाई हेर्न सक्ने तेजिला बन्छन् । मान्छे समय बिताउन नसकेर छट्पटाइरहेका छन् तर कवि नेपाललाई भने समय नपुग्ने पो होकि भन्ने चिन्ता छ । हेरौँ लकडाउन पछाडि नै नेपाली साहित्यले एउटा गहन कृति प्राप्त गर्नेछ । उहाँझैँ गुप्तवास बस्न सके धेरै व्यक्तिहरूमा प्रतिभा प्रस्फुटन हुने सम्भावना जीवितै छ ।

डा. रेणुका सोलु ( सोलुखुम्बु )

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिनको कार्यालय प्रशासन प्रमुख तथा सशक्त साहित्यकार डा. रेणुका सोलुको फेसबुक स्टाटस हेर्दा लाग्छ बुझ्ने मान्छेले संसार नै देख्नेछ । दैनिक रूपमा मान्छेले गर्नुपर्ने हरेक क्रियाकलापको संस्कार संस्कृति सिकाउन प्रस्तुत गरिने सामग्रीझैँ लाग्छन्– उहाँकाफेसबुक स्टाटस र फोटाहरू । उहाँको स्टाटस हेरेर अनुमान लगाउन सकिन्छ, उहाँ कुशल प्रशासक र साहित्यकार मात्र होइन एक कुशल गृहणी, कुशल कृषक, कुशल शिक्षक, कुशल समाजसेवी र कुशल संगठक पनि हुनुहुन्छ । लकडाउनको हरेक दिन कहिले करेशाबारीमा काम गर्दाको कथा, कहिले चुलाचौकामा लुट्पुटिँदाका रोमाञ्चक दृश्यचित्र, कहिले गरिब, विपन्न र असहाय वर्गको चित्कार सुन्ने सुनाउने स्टाटस लेख्ने, अभावमा बाँचेकालाई सहयोग गर्ने कार्यमा उहाँका दिनहरू बितेको देख्न पाइन्छ । यसका साथै “मानवता”, “रगतको आँसु”, “कालो छाँया”, जस्ता उत्कृष्ट लघुकथा, “सरकार रेमिट्यान्स चल्ने तर देशमा आउन नपाउने ?” जस्ता गम्भिर प्रश्न बोकेका लेख लेख्ने गरेको पाइन्छ । त्यस्तै सकारात्मक र समाज परिवर्तनका आवाज बोकेका लेख तथा स्टाटस सेयर गरेर लकडाउनको सदुपयोग गरेको देखिन्छ ।

डा. भिम खतिवडा (सुन्सरी)

 

 

 

पूर्वको साहित्यलाई चम्काउने मध्येको एउटा नाम हो डा. भिम खतिवडा । छन्द कवितामा पारङ्गत तथा समालोचक खतिवडाको फेसबुक स्टाटसलाई हेर्र्दा उहाँ लकडाउनको समयमा घरभित्रै बसेर नेपाली समाजलाई पढाइरहनु भएको छ । प्रत्येक दिन छोटा–मीठा मुक्तकिला सन्देशहरू पस्कने, कोरोनाको कहरबाट सबैले बचौँ र बचाऊँ भन्ने सन्देश मूलक स्टाटस लेख्ने गर्नुभएको छ । लकडाउनकै बिचमा मृत्युवरण गर्ने बहुमुखी प्रतिभाका धनी साहित्यकार उपेन्द्र पागलको मृत्युबाट प्रताडित खतिवडाले “साहित्यकार उपेन्द्र पागलप्रति हार्दिक श्रद्धाञ्जली” शीर्षकको आलेखमा साहित्यकार उपेन्द्र बहादुर बस्नेतको सिङ्गो जीवन नै लेख्नुभएको छ । त्यसै गरी “कोरोना कस्टडीमा स्रष्टाहरू” र “कहर कलम” शीर्षकको लेखमा अग्रज साहित्यकारको लकडाउन दैनिकी र भावनालाई प्रस्तुत गर्नुभएको छ । यसबाट थाहा हुन्छ उहाँको दैनिकी लेखन, अध्ययन र अनुसन्धानमै बितिरहेको छ ।

डा. मनोजकुमार यादव (जनकपुर)

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील (CONSULTANT ORTHOPEDIC SURGEON ) डाक्टर मनोजकुमार यादवको फेसबुक स्टाटसलाई हेर्दा उहाँ नेपाल र नेपालीको स्वास्थ्यप्रति अति चिन्तित र भावुक देखिनुहुन्छ । सामाजिक सञ्जालमा त्यति उपस्थिति नजनाउने डा. यति बेला भने परामर्श सेवाका साथै दिनमा ४/५ वटा कोरोनासँग सम्बन्धित समाचारका लिङ्क सेयर गर्ने, हात किन धुने ?, कसरी धुने ?, घरमा बस्नु किन जरुरी छ ? कोरोनाका लक्षण के–के हुन? जस्ता सामाजिक सुरक्षा र चेतनाका सन्देशहरूलाई बाँडिरहनु भएको छ । उहाँले सेयर गरेका प्रत्येक लिङ्कहरूले हरेक नेपालीलाई कोरोना सङ्क्रमण हुनबाट बचाउने, आत्मबल बढाउने र घरभित्रै बस्दा हुने फाइदा र सुरक्षा कवजलाई पढाइ रहनुभएको देखिन्छ ।

देवकी तिमल्सिना समीक्षा (हुम्ला)

सिन्धुपाल्चोकमा जन्मिएर राज्य परिवर्तनको युद्धमा होमिएकी देवकी तिमल्सिनाले पश्चिम हुम्लालाई आफ्नो कर्मभूमि बनाउनुभएको छ । १० वर्षे जनयुद्धमा परिवर्तनकारी जनताका जोसिला गीत गाउँदै र नाच्दै हिड्ने देवकीले पछिल्लो समयमा “योद्धाको सपना” नामक कविता कृति पनि प्रकाशित गर्नुभएको छ । सदैव सकारात्मक सोच र परिवर्तनको सपना देखिरहने तिमल्सिनाको फेसबुक स्टाटसलाई हेर्दा लाग्छ उहाँ अहिले जिन्दगीकै सुन्दर क्षणमा हुनुहुन्छ । लकडाउनको सही सदुपयोग गर्दै परिवारसँग रमाउँदै फोटो खिच्ने,फूललाई समाउँदै रमाउने र चुम्बन गर्ने, पारिवारिक आनन्दमा विभिन्न परिकार बनाएर खाने गरेर लकडाउनलाई ऊर्जावान बनाएको देखिन्छ । यति मात्र होइन समसामयिक विषयवस्तु, भाव र बिम्वमा मुक्तक लेखेर सम्प्रेषण गरिरहनुभएको छ । त्योभन्दा अझ रोचक पक्ष युद्धकालमा नाचेका गीतमा अहिले फेरि नाचेर सबैलाई रोमान्टिक बनाउने नृत्यङ्गनाको भूमिका उहाँको फेसबुक पोस्टमा देखिन्छ । हामी पनि नाचौँ, गाउँ, बाँचौँ र बचाउँ भन्ने भाव उहाँबाट सिक्न सकिन्छ ।

विश्वम्भर लामिछाने (सिन्धुली)

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ढकाल गाँउमा जरा जर्बुटामा कला खोज्ने कला पारखी, कानुन व्यवसायी विश्वम्भर लामिछानेको फेसबुक सटाटसलाई हेर्दा लाग्छ–उहाँ सारा मेडिकल डाक्टरहरूका पिता हुनुहुन्छ । यो महामारीको रूपमा पैmलिएको कोरोना भाइरससँग रणमैदानको सिपाहीझैँ युद्ध लडिरहनुहुने उहाँ स्वयम् आफ्नो छोरा डा. विप्लव ढकाल र स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीका प्रेरणास्रोत बनिरहनुभएको आभास हुन्छ । सबैलाई “तिम्रो शरीरमा एक मुठी रगत र प्राण रहेसम्म नेपाल र नेपालीको सेवा गर्नु तिम्रो परम् कतृव्य हुनेछ । यो युद्ध तिम्रो लागि चुनौती र अवसर दुवै हो यसलाई जितेर तिमी फ्लोरेन्स नाइटिङ्गेल जस्तो महान स्वास्थ्यकर्मी बन्न सक्नु” भनेर प्रेरणा र आशीर्वाद दुवैप्रदान गरिरहनुभएको छ । उहाँले आफ्नो डाक्टर छोरालाई लेखेको यो पत्र हामी सारा नेपालका छोरा–छोरीको लागि पनि प्रेरणाको स्रोत हो ।

पार्वती भट्ट (डडेल्धुरा)

 

सुदुरपश्चिम डडेल्धुरा जिल्लामा रहेर अध्यापन तथा साहित्य सिर्जनामा तल्लिन सप्तरङ्गी साहित्य समाजकी अध्यक्ष पार्वती भट्टको फेसबुक स्टाटसलाई हेर्दा लाग्छ–उहाँ यति बेला पारिवारिक दैनिकीका साथै अध्ययन, अनुसन्धान र लेखन कार्यमै व्यस्त हुनुहुन्छ । कोरोनाको सन्त्रासले घरभित्रै थुनिनु पर्दा पनि उहाँमा नैराश्यता र उदासिनताभन्दा प्रेरणा र सकारात्मक सोचबुझले लेखन कार्यमा सक्रियता रहेको देखिन्छ । उहाँले फेसबुक स्टाटसमा राखेका मुक्तक, देउडा, लघुकथा हेर्दा र पढ्दा लाग्छ– मान्छेले मनलाई शान्त पार्न सक्यो भने दिव्यज्योति प्राप्त गर्न कतै जानु पर्दैन । यस्तै सन्देश मुलक स्टाटस लेख्दै समय बिताउने भट्टको यो मुक्तक निक्कै भावुक र उत्कृष्ट छ ।
“यो कस्तो समर्थन हो ? हाँस्न पाउँदैन, रुन पाउँदैन
बन्धक भएको छ मानवता, कसैको हुन पाउँदैन
टुलुटुलु हेरेरै रुन्छ आफन्त अचेल वियोगमा पनि
मलामी स्वयम् मुर्दालाई मुसार्न पाउँदैन, छुन पाउँदैन ।।”

रमेश भट्टराई सहृदयी (ताप्लेजुङ्ग)

आदर्श बहुमुखी क्याम्पस, गजुरी–१ धादिङमा उप–प्राध्यापक रहनुभएका सुदुरपूर्व ताप्लेजुङ्गका लेखक तथा साहित्य स्रष्टा रमेश भट्टराईको फेसबुक स्टाटसलाई नियाल्दा उहाँ यो लकडाउनको समयमा लेखन कार्यमा निकै खटिएर लाग्नुभएको छ । गोरखापत्र राष्ट्रिय दैनिकमा “घरवास सजाय होइन सहयोग”, राजधानी राष्ट्रिय दैनिकमा “जन्मभूमि टेक्न नपाउँदा बगेको आँसु”, कारोबार राष्ट्रिय दैनिकमा “कोरोनाको निसानामा परेको एसईई” लगायतका लेख प्रकाशन गर्नुभएका उहाँले रातोपाटी अनलाइन खबर, केन्द्रबिन्दु डट कम, लोकसंवाद, बाह्रखरी डट कम लगायतका अनलाइन पत्रिकामार्फत यो लकडाउनको समयमा थुप्रै प्रकृतिका समसामयिक लेखहरूप्रकाशन गर्नुभएको छ ।

भट्टराईका समय सान्दर्भिक प्रत्येक लेखले समाजलाई सकारात्मक सन्देश प्रवाह गरेका छन् । उहाँको चितवन पोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित “बढ्दो त्रास, पैmलँदो नमस्कार संस्कार” लेखले निकै चर्चा पायो । यसका अतिरिक्त उहाँले विभिन्न शैली र शीर्षकका कलम चलाएर लकडाउनको सदुपयोग गर्ने साथै अरू प्रेरणादायी समाचार लिङ्कहरूलाई सेयर गर्ने, पारिवारिक फोटो पोस्ट गर्ने, कविता र मुक्तकहरू पोस्ट गर्ने गरेको देख्दा लाग्छ लेखक भट्टराईको लकडाउन (एकान्तवास) को समय आपूm घरभित्र बसेर अरू सबैलाई संसार देखाउने खालको प्रेरणादायी भएर बितिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?