काठमाडौं । चिनियाँ शहर वुहानबाट फैलिएको कोरोना भाइरसको कारण ७६ दिन लकडाउनमा घरभित्र बसि बुधवार लाखौ मानिस बाहिर निस्किएका छन् ।
त्यतिका लामो समय घरभित्र बस्नुपरेको कारण बल्ल मात्र बाहिर निस्किन पाएकोमा धेरै मानिसहरु भावुक बनेका थिए ।
शहरको मध्यभागबाट बग्ने विशाल याङ्जी नदीको पुलबाट शहरको झिलिमिली नियाल्न आइपुगेका उनीहरु धेरैले आफुहरु पागलझै भएको प्रतिकृया दिएका छन् ।
झण्डै १ करोड १० लाख मानिसको बसोबास रहेको वुहानका सडकहरू एकाएक सवारी साधनले भरिएका थिए भने बिमानस्थल, रेल र बस स्टेशनहरूमा लामालामा लाइन देख्न सकिन्थ्यो। वुहानबाट आफ्ना घर फर्कन चाहने तथा अन्यत्रै काम गर्ने हजारौं मानिस सबेरै यहाँ भेला भएका थिए। सडकका ठाउँठाउँमा राखिएका पहेँला अवरोधहरू हटाइएका थिए। यद्यपि आवासीय घरहरुका ढोकामा सुरक्षा पहरा अझै राखिएको छ।
शहरमा भाइरसको प्रकोप बढेसँगै अस्पतालमा मानिसको भिड देखिन थालेपछि जनवरी २३ देखि वुहानमा लकडाउन शुरू भएको थियो। विद्यालयहरू अझै बन्द छन्, भवनमा प्रवेश गर्नेक्रममा सबै मानिसको शरीरको तापक्रम जाँचिन्छ र मास्क लगाएर मात्र खुला ठाउँमा जान कडा नियमहरु जारी गरिएका छन्। शहरको नेतृत्वले सामाजिक र व्यावसायिक जीवन फिर्ता ल्याउने सन्दर्भमा कोरोनाभाइरसको दोस्रो संक्रमणको खतरालाई विचार गरेको बताएका छन्।
तैपनि, यात्रा गर्न पाउनु पनि ठूलो राहत हो। बिमान र रेलद्वारा बुधबार मात्र ६५ हजार भन्दा बढी मानिस आआफ्ना गन्तव्यतर्फ लाग्ने अपेक्षा गरिएको छ। वुहानका बासिन्दाहरूलाई अब कुनै आधिकारिक अनुमति बिना यात्रा गर्न पाउने छुट दिइएको छ तर सबैले मोबाइलमा स्वास्थ्य विवरण अनिवार्य रुपमा अद्यावधिक गर्नु पर्नेछ। यसबाट व्यक्तिको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी प्राप्त गर्न र अनुगमन गर्न सरकारी निकायहरुलाई सहज हुनेछ।
लकडाउन खुलेसँगै पुल, सुरुङ र राजमार्गका टोल बुथहरूमा सवारी साधन र मानिसको भिड देखिन केही समय लागेन। मानिसहरु घुम्न, बाहिर निस्कन र शहर छाड्न कति आतुर थिए भन्ने यसैबाट देखिन्थ्यो। जिल्ला प्रहरी प्रमुख यान सियाङशेङका अनुसार करिब एक हजार सवारी साधन त मध्यरातमा वुहानको सिमानाको व्यस्त राजमार्ग टोल बुथबाट बाहिरिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया