काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचारको लागि वीरगन्जमा प्रदेश सरकारले कोरोनाको परीक्षण र उपचार गर्ने छुट्टै अस्पताल निर्माण गरिने भएको छ ।
वीरगन्जबाट सोमबार जनकपुर पुगेका सांसद, मेयर र चिकित्सकको टोलीसँगको कुराकानीमा मुख्यमन्त्री लालबाबु राउतले वीरगन्जमा कोरोना परीक्षण र उपचार गर्ने छुट्टै अस्पताल निर्माण थाल्ने प्रतिबद्धता जनाएका टोलीमा सहभागी पर्साका सांसद प्रदीप यादवले लोकपथसँग बताएका हुन् ।
मुख्यमन्त्री राउतका अनुसार कोरोनाको छुट्टै अस्पताल निर्माण स्थलका लागि प्रदेश सरकारले मङ्गलबार नै प्राविधिकको टोली वीरगन्ज पठाउने तयारी रहेको छ ।

मुख्यमन्त्री राउतले वीरगन्जमा कोरोना परीक्षण गर्ने पिसिआर मेशीन खरिद प्रकृयाका लागि मङ्गलबार नै बोलपत्र आह्वान गर्ने जानकारी बताएका छन् ।
वीरगन्जमा रहेको नारायणी अस्पतालमा प्रदेश सरकारबाट थप ४० थान पिपि सेट पठाउने आश्वासन पनि आफूहरूले पाएको सांसद यादवले जानकारी दिए ।

मुख्य नाकाको रुपमा रहेको वीरगन्जमा कोरोना परीक्षण प्रयोगशाला स्थापनामा ढिलाइ हुँदा कोरोना संक्रमणको जोखिम बढेपछि सोमबार जनकपुरमै पुगेर प्रदेश सरकारको ध्यानाकर्षण गराइएको टोलीमा सहभागी वीरगन्जका नगरप्रमुख विजय सरावगीले बताएका हुन् ।
उक्त टोलीमा सांसद यादव, नगर प्रमुख सरावगी, नारायणी अस्पतालका निमित्त मेसु डा मदन उपाध्याय, अस्पतालका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति डाक्टर उदयनारायण सिंह सहभागी रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया