काठमाडौं । सुदूरपश्चिम प्रदेशको समुदायस्तरमा कोरोना भाइरस संक्रमणको र्यापिड टेष्ट गर्ने भएको छ ।
मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड-१९ को परीक्षण गर्ने र यसमा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने निर्णय गरेको थियो ।
आइतबार नै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको संयुक्त बैठक बसेर र्यापिड टेष्टमा खटिने १४ जनाको टोलीलाई अभिमुखीकरण तालिम दिएको थियो । तालिमप्राप्त एउटा टोली बागलुङ र अर्को टोली सुदूरपश्चिमतिर सोमबार प्रस्थान गर्ने बताइएको छ ।
सुदूरपश्चिम जाने टोलीले सुरुमा कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण सुरु गर्नेछ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालय, धनगढीका प्रमुख डा.गुणराज अवस्थीका अनुसार कैलाली र कञ्चनपुरमा ६०० तथा प्रदेशभरमा करिव २ हजार मानिस स्थानीय तहको क्वारेन्टाइनमा छन् । प्रदेशमा भारत तथा तेस्रो मुलकबाट आएकाहरुको संख्या भने ठूलो छ, जसको तथ्यांक स्थानीय तहले संकलन गर्दैछ ।
प्रयोगशालाका अधिकारीहरुका अनुसार प्रारम्भिक चरणमा ३०० जनाको मात्र टेष्ट गर्ने योजना छ । त्यसक्रममा भाइसल ट्रान्सपोर्ट मिडियामा पनि नमुना संकलन गरिनेछ र प्रदेशमा रहेको ल्याबमा पीसीआर विधिबाट पनि पुनः परीक्षण गरिनेछ ।
र्यापिड टेष्ट किट र पीसीआरको विधिबाट गरिने टेष्ट मेल खाएमा टेष्टले तिव्रता पाउनेछ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीकाअनुसार सात-दश दिनमा करिब २० हजार मानिस परीक्षणको दायरामा आउन सक्छन् । उनले भने, ‘कैलाली र कञ्चनपुरपछि एचआईभी एड्स लगायतका दीर्घ रोग बढी देखिएको डोटी, अछाम, जुम्ला लगायतका जिल्लामा र्यापिड टेष्ट गर्छौं ।’
त्यस्तै, बागलुङमा भने कोरोना संक्रमितको बासस्थान र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गरिने छ । चैत महिनामा विदेशबाट फर्किनेहरुलाई पनि र्यापिड टेस्टमा समावेश गर्ने तयारी रहेको जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गुरौले जानकारी दिए । बागलुङमा ८ सय १५ जना विदेशबाट फर्किएका व्यक्तिहरु छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया