ज्यालामजदुरी गर्नेहरुलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सहयोग गर्ने

काठमाडौं । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले दैनिक ज्यालामजदुरी गर्नेहरुका लागि सहयोग गर्ने भएको छ ।

सारा विश्वभर नै महामारीको प्रकोपले सताएको बेला जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जिल्लामा अन्य जिल्लाहरुबाट ज्याला मजदुरीको सिसलसिलामा आएका मजदुरहरुको दैनिक खाद्यान्न आवश्यक परे उपलब्ध गराउने निर्णय गरेको छ ।

चैत्र २० गते बिहीवार बसेको उक्त बैठकले लकडाउन अवधिभरका लागि सम्बन्धित वडा कार्यालयले तथ्यांक संकलन गरेर गाउँपालिका र नगरपालिकाको सिफारिसमा जिल्ला समन्वय समितिमा ईमेल मार्फत माग गरेमा आवश्यक पर्ने खाद्यान्न राहत सम्बन्धित स्थानमै उपलब्ध गरिदिने निर्णय गरेको हो ।

२०७६ साल चैत्र १५ गतेका दिन जिल्ला समन्वय समितिको कार्यालयमा पालिका प्रमुख, पार्टी प्रतिनिधी र सुरक्षा निकायहरुबीचमा भएको सर्वपक्षिय बैठकले यस अघि नै जिल्लाको भौगोलिक अवस्थालाई हेरेर जिल्लाका ३ स्थानहरुमा क्षेत्रीय क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई सम्मान गर्दै बिहीवार बसेको बैठकले उक्त क्षेत्रीय क्वारेन्टाइनमा आवश्यक पर्ने खाद्यान्न सामाग्रीहरु पनि उपलब्ध गराउने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?