गैरजिम्मेवार बन्दा आफ्नै पार्टीका नेताबाट उपप्रधानमन्त्री पोखरेल आलोचित

काठमाडौं । कोरोना नियन्त्रणसम्बन्धी उचस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अभिव्यक्तिको आलोचना भएको छ ।

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री रद्द गरिएको विषयमा एक पत्रिकालाई उनले दिएको अन्तर्वार्तामा गैरजिम्मेवार जवाफ दिएको भन्दै उनको आलोचना भएको हो ।

खरिद प्रक्रिया रद्ध भएपछि समितिको जिम्मेवारी र आगामी कदमको विषयमा पटक पटक प्रश्न सोध्दा गैरजिम्मेवार जवाफ दिएका छन् भने सबै दोष स्वास्थ्य सेवा विभागलाई थापेर आफू बेखबर भएको जस्तोगरी प्रस्तुत भएका छन् ।

यसविषयमा नेकपा नेता विष्णु रिजालले पनि असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जिम्मेवार ठाउँमा बसेकाहरूले मिडियासँग बोल्दा ओठे जवाफ होइन, तर्कसंगत कुरा गर्नुपर्छ । किनकि, यो नागरिकसँगको संवाद हो । सबै जिम्मा कर्मचारीले लिइदिने भए विभिन्न फूर्का जोडेका नेताहरु सरकारमा किन चाहिन्थे र ? निर्णय गरौं, त्यसको जिम्मा लिऔं, दोष पन्छाएर पानीमाथिको ओभानो नबनौं !’

सामाजिक सञ्जालमा अन्य नेकपाकै कार्यकर्ताका साथै सरोकारवालाले पनि पोखरेलको गैरजिम्मेवार प्रस्तुतिको आलोचना गरेका छन् ।

बुधबारमात्रै मेडिकल सामग्री खरिदबारे चौतर्फी आलोचना भएपछि सम्झौता रद्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?