अस्ट्रेलिया चार्टर्डमा एजेन्ट घुसाएर साढे ४५ लाख कमिसन

नेपालमा रहेका आफ्ना नागरिक स्वदेश लैजान अस्ट्रेलियन दूतावासले गरेको चार्टर्डमा साढे ४५ लाख कमिसनको चलखेल भएको छ । अस्ट्रेलियन दूतावासले जहाज सीधै चार्टर्ड गरेकोमा निगम नेतृत्वले बीचमा बोन ट्राभल्सलाई घुसाएर मिलेमतोमा कमिसन खाएको हो ।

मंगलबार निगमका अपरेसन विभाग निर्देशक दिपुराज ज्वारचनले काठमाडौं–क्वालालम्पुर–ब्रिसवेन जाउआउ २६ घन्टा उडानका लागि प्रतिघन्टा १८ हजार एक सय अमेरिकी डलरका दरले जहाज बुक भएको सञ्चारमाध्यमलाई जानकारी दिएका थिए । यो हिसाबमा निगमले सीधै चार लाख ७० हजार ६ सय डलर पाउने पक्का थियो । बुधबारको डलरको भाउअनुसार पाँच करोड ७१ लाख १२ हजार १६ रुपैयाँ निगमलाई हात लाग्थ्यो ।

तर, बुधबार घटना पूरै मोडियो । निगमले बोन ट्राभल्समार्फत १४ जना बिजनेस क्लासका टिकट बिक्री गर्‍यो । यसको प्रतिव्यक्ति २३ सय डलरका दरले ३२ हजार दुई सय डलर हुन्छ । त्यस्तै, ट्राभल्सले अन्य दुई सय ३६ यात्रुलाई प्रतिव्यक्ति एक हजार सात सय ९५ डलरका दरले इकोनोमी क्लासको टिकट बिक्री ग¥यो । यसको चार लाख २३ हजार ६ सय २० डलर हुन्छ । सबै दुई सय ५० यात्रुको चार लाख ५५ हजार आठ सय २० डलर अर्थात् बुधबारको डलर भाउअनुसार पाँच करोड ५३ लाख १८ हजार तीन सय १५ रुपैयाँ हुन्छ ।

दूतावासले सीधै चार्टर्ड गर्दाभन्दा ट्राभल्समार्फत जाँदा निगमलाई १७ लाख ९३ हजार रुपैयाँ कम भाडा उठ्ने भएको छ । त्यस्तै, ट्राभल्सले वैधानिक रूपमै ५ प्रतिशत कमिसनबापत २७ लाख ६५ हजार नौ सय १५ रुपैयाँ लैजान्छ । यसरी निगमलाई सीधै साढे ४५ लाख रुपैयाँ घाटा लागेको छ । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?