नेपालमा ११ सय ३३ जनाको कोरोना नमुना परीक्षण, ९९ जना आइसोलेसनमा (विवरणसहित)

काठमाडौं – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस संक्रमणको आशंकामा हालसम्म एघार सय ३३ जनाको नमुना संकलन गरी परीक्षण गरिएको छ । यस्तै कन्ट्र्याक टेसिङ ( Tracing )को काम ८४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले हालसम्म एघार सय ३३ जनाको नमुना संकलन गरी परीक्षण गरिएको र सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९९ जना भर्ना भएको जानकारी दिएका हुन् । उनले थपे, “आजबाट पोखरामा पनि कोरोना परीक्षण सुरु भइसकेको छ ।” बेलुकासम्ममा हेटौंडामा पनि कोरोना परीक्षण हुने तयारी भइरहेको छ । त्यस्तै “बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानले ४ दिनमा १२ जनाको परीक्षण गरेको छ । विभिन्न जानकारीका लागि ६ हजार ९ सय कल आएकोमा २४ घण्टामा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा दुई हजार ३ सय २३ कलको गुनासो समाधान गरिएको छ ।

नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएकोमा दुई जनाको काठमाडौंको टेकुस्थित शुक्रराज टपिकल सरुवा रोग अस्पतालमा विशेष निगरानीमा उपचार भइरहेको छ । अर्का एकजनाको धनगढीको सेती प्रादेशिक अस्पताल र बाग्लुङको धौवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । एक जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।
आज सरकारले आह्वान गरेको लकडाउनको नवौँ दिन हो । महामारी रोक्न र यसबाट बच्न नागरिकलाई सरकारले अपिल गरिरहेको छ । यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कोभिड१९ भाइरस संक्रमण त्रास बढेका कारण स्वास्थ्य समस्या लिएर जाने बिरामी अस्पतालमा भौतारिनुपरेको समाचार आएपछि वीर अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामी जाँचका लागि नयाँ कक्ष निर्माण भएको छ।
यो समाचार तयार पार्दासम्म विश्वभरमा ४३ हजार ४ सय ३९ जनाको मृत्यु भएको छ भने आठ लाख ७५ हजार मानिस संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?