दिल्लीको धार्मिक सभामा १९ नेपालीः रौतहटका १६ जना

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण फैलाउन भूमिका खलेको नयाँदिल्लीस्थित मुस्लिम संस्था तबलीगी जमातको हेडक्वार्टरमा भएको धार्मिक सभामा १९ जना नेपालीसमेत सहभागी भएको पाइएको छ ।

साथै उक्त धार्मिक सभामा सहभागी नेपाली मध्ये अधिकांश रौतहटका भएको पुष्टि भएको छ । ती मध्ये १६ जना रौतहट र ४ जना निजगढ र जीतपुर बाराका नेपाली उक्त धार्मिक सभामा सहभागी भएको दूतावासको तथ्यांकले देखाएको छ ।

क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये एक जनाका आफन्तले बताएअनुसार दिल्लीकै नजामुद्दिन विद्यालयमा पढ्ने १३ जना नेपाली विद्यार्थी पनि त्यो धार्मिक सभामा सहभागी थिए । उनीहरुलाई पनि एउटै गाडीमा राखेर अस्पतालसम्म पुर्‍याइएको थियो ।

भारतीय सञ्चारमाध्यम द इकोनोमिकका अनुसार १ देखि १५ मार्चसम्म चलेको उक्त सभामा नेपालसहित १६ देशका नागरिक सहभागी थिए ।

दिल्ली प्रहरीले निजामुद्दीन क्याम्पसमा पछिल्ला दुई दिनमा खोजी गर्दा ३०० जना विदेशी फेला पारेको छ। यसमा नेपालका १९ जना भेटिएका हुन् । भारतमा उक्त सभामा सहभागी भएकामध्ये केहीको मृत्यु भएको र केहीलाई कोभिड-१९ पोजेटिभ भेटिएपछि त्यहाँ अन्य देशका नागरिक पनि सहभागी भएको खुलेको थियो ।

निजामुद्दीनमा रहेको मुस्लिम संस्था तबलीगी जमातमा भारतका १९ राज्यमा मानिसले सहभागिता जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको संक्रमण रोक्न भारत सरकारले देशैभर लकडाउन गर्नु अघि नै त्यहाँ मानिसहरू धार्मिक सभामा सहभागी भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?