म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लकडाउनको अवज्ञा गर्दै मदिरा ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ । ६ काटुर्न मादकपदार्थ (मदिरा) बोकेर बेनीबाट राखुतर्फ जाँदै गरेको ग २ च ८८६१ नम्बरको जीपसहित त्यसका चालक बेनी नगपालिका-८ का सुनिलकुमार शाह र सहचालक जलजला गाउँपालिका-३ का असल परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि अत्यावश्यक वस्तु र सेवामात्र सञ्चालनको आदेश जारी गरेको अवस्थामा अत्यावश्यक वस्तुको नाममा मदिराको ओसार पसार गरेको पाइएकाले दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धुर्वप्रसाद शर्माले जानकारी दिए ।
बरामद भएको मादक पदार्थ तथा नियन्त्रणमा रहेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पठाइएको छ । यस्ता क्रियाकलाप निषेधाज्ञाविरुद्धका कार्यहरु भएकाले पक्राउ परेकालाई सङ्क्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसुरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानूनी कारबाही हुने व्यवस्था छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया