अब सवारी साधन पास यी ४ ठाँउबाट पाउन सकिने (सूचनासहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम थप नहोस भन्नका लागि सरकारले लकडाउन गरेको छ । लकडाउनको समयमा अत्यावश्यक कामका लागि बाहिर निस्किन पर्ने अवस्थामा सरकारले उपलब्ध गराउन लागेको पास अब विभिन्न ४ निकायले उपलब्ध गराउने भएको छ । यसभन्दा अघि जिल्ला प्रशासन कार्यालयबाट मात्र पास उपलब्ध गराउने गरेको थियो ।

सरकारले दोस्रो चरणको लकडाउन आगामी चैत २५ गतेसम्मको लागि बढाएको छ । जसको कारण जिल्ला प्रशासन कार्यायलमा मात्र भिडभाड हुने भएकाले विभिन्न ४ निकायबाट पास उपलब्ध गराउन लागिएका जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गरी अब खाद्यवस्तुलगायत अत्यावश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने निकाय र संघ संस्थालाई अब वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पास दिने जनाएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकबाट र सरकारी कर्मचारीले प्रयोग गर्ने सवारी साधनको पास संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिने पनि जानकारी दिएको छ ।

साथै यसबाहेक अन्य आकस्मिक प्रयोजनका लागि आवश्यक पर्ने सवारी पासमात्रै प्रशासन कार्यालयले दिने सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा अत्यधिक भीड बढेकाले त्यस्तो निर्णय गरिएका जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?