कोरोना भाइरस : कतार एयरवेजबाट आएका पाँचजनाको रिपोर्टमा के आयो ?

काठमाडौं । कतार एयरवेजबाट यहाँ आएका पाँचैजनाको नतिजा नेगेटिभ आएको छ । सोही एयरवेजबाट आएकी कोराना सङ्क्रमित युवतीसँगै आएका जिल्लाका पाँचजनाकै कोरोना भाइरसको नतिजा ‘नेगेटिभ’ आएको हो ।

भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमूना टेकु प्रयोगशालामा परीक्षण हुँदा पाँचजनाकै नतिजा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए ।

कोरोना सङ्क्रमित युवतीसँगै एउटै जहाजमा आएका भरतपुर महानगरपालिका-८ का भुवन कोइराला, उनकी श्रीमती सञ्जु कोइराला, भरतपुरका सुरेश गुरुङ, शम्भु नेपाली र उनकी श्रीमतीलाई अस्पतालमा क्वारेन्टाइनमा राखी स्वाब परीक्षणका लागि पठाइएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनको आग्रहमा उनीहरु कोरोना अस्पताल पुगेका थिए ।

सोही एयरवेजमा आएका छ जना चितवनवासी भएकोमा एक जना काठमाडौँमा नै बसेका थिए । यस्तै भरतपुर कोरोना अस्पतालबाट पठाइएको अन्य छ जनाको कोरोना परीक्षणको नतिजासमेत नेगेटिभ आएको अधिकारीले जानकारी दिए ।

गत चैत्र ७ गतेबाट सञ्चालनमा आएको अस्पतालमा कोरोनाको लक्षण देखिएका २३ जनाले सेवा लिएका छन् । हाल चारजनाको उपचार भईरहेको छ ।

अन्यको नतिजा नेगेटिभ आएसँगै घर पठाइएको अस्पतालले जनाएको छ । घरपरिवारको निगरानीमा राख्ने गरी पठाइएको गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?