कोरोना अपडेट : इटालीमा मृतकको संख्या ८ हजार नाघ्यो, विश्वमा कति पुगे संक्रमित ?

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ५ लाख ३२ हजार २ सय २४ पुगेको छ भने मृतकको संख्या २४ हजार ८७ पुगेको छ ।

५ लाख संक्रमितमध्ये २.५ लाख भन्दा धेरै संक्रमितहरु युरोपमा पाइएको छ । त्यसको आधा इटाली र स्पेनमा कोरोनाका संक्रमितहरु पाइएको हो ।

जस कारण युरोपीय देशहरुले आफ्ना अस्पतालमा स्वास्थ्योपचारका लागि बिभिन्न सुविधाहरु बढाउन थालेका छन् । कोरोना भाइरसका कारण इटाली र स्पेनमा मृत्युको शिलशिला अत्याधिक बढ्दै गएको छ ।

इटालीमा मात्रै ८० हजार ५ सय ८९ जनामा कोरोनाको संक्रमण देखा परेको छ । इटालीमा आज मात्रै ६ हजार १ सय १५ वटा संक्रमणका नयाँ मामिला देखा परेका छन् ।

वैश्विक स्तरमा भने कोरोनाको संक्रमण ५ लाख नाघेको छ । विश्वमा अहिलेसम्म कोरोनाका संक्रमितहरु ५ लाख ३२ हजार २ सय २४ रहेका छन् । मिडिया रिपोर्टका अनुसार इटालीमा संक्रमितहरुको संख्या चीनको बराबर भएको छ ।

इटालीको अवस्था नाजुक

इटालीको सिभिल प्रोटेक्सन एजेन्सीको रिपोर्टका अनुसार बिहीवार मात्र ६ सय ६२ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण मृतकको संख्या इटालीमा अहिलेसम्म सबैभन्दा धेरै ८ हजार दुई सय १५ पुगेको छ ।

स्पेनमा पनि कोरोनाबाट मर्नेको संख्या बढ्यो

इटाली पछि स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या धेरै रहेको छ । यस घातक भाइरसका कारण स्पेनमा ४ हजार ३ सय ६५ जनाको ज्यान गईसकेको छ ।

स्पेनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ५७ हजार ७ सय ८६ रहेको छ । जसमा ७ हजार १५ जना निको भईसकेका छन् । तर चीनमा भने मृतकको संख्या ३ हजार २ सय ९१ रहेको छ ।

अमेरिकामा सबैभन्दा धेरै संक्रमित

अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या तीव्र गतिमा बढी रहेको छ । कोरोनाका सबैभन्दा धेरै संक्रमितको संख्या अमेरिकैमा रहेको छ ।

अमेरिकामा भाइरसका ८५ हजार ५ सय ९४ संक्रमितहरु रहेका छन् । अमेरिकामा बिहीवार १३ हजार ९ सय ६८ नयाँ पोजेटिभ मामिला पाइएको हो । अमेरिकामा अहिलेसम्म १३ सय जनाको मृत्यु भईसकेको छ ।

पाकिस्तानमा कोरोनाका संक्रमित १२ सय माथि

पाकिस्तानले कोरोना भाइरसको प्रकोपबाट भएको आर्थिक संकटबाट माथि उठ्न ३.७ अर्ब डलरको अतिरिक्त ऋण मागेको छ ।

देशमा कोरोना भाइरसबाट अहिलेसम्म ९ जनाको मृत्यु भईसकेको छ । पाकिस्तानमा १२०१ जना कोरोना संक्रमित रहेका छन् ।

त्यस्तै ईरानमा अहिलेसम्म भाइरसका २९ हजार ४ सय ६ जना संक्रमितहरु पाईएको छ । साथै भाइरसका कारण ईरानमा अहिलेसम्म २२ सय ३४ जनाको ज्यान गएको छ ।

साथै फ्रान्समा पनि कोरोनाका कारण १६सय ९६जनाको मृत्यु भईसकेको छ । र भाइरसका संक्रमितहरुको संख्या २९ हजार १ सय ५५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?