- लभेश प्याकुरेल
काठमाडौं । देश लकडाउनको तेस्रो दिनमा पुग्दा नपुग्दै समाचार आएको छ अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास अर्थात आधा सिलिन्डर ग्यास मात्र उपभोग्ताले पाउने छन् ! नेपाल आयल निगमले मागअनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि आधा सिलिन्डर ग्यास बेच्ने निर्देशन दिएको छ ।
कोरोनाको त्राशका कारण उपभोक्तले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन शुरु भईसकेपछि भने आधा सिलिण्डर बिक्री वितरणको उपाय अगाडि सरेको छ !
लकडाउन अगाडि काठमाडौंका धेरै पसलमा हाम्रा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैँ छापामार शैलीमा छड्के अनुगमन गर्दै थिए, जनताको वाहावाही पनि ब्यापकै पाएका थिए ! आपूर्ति मन्त्री, मन्त्री मात्र होइन सरकारका बलिया मानिएका सबै मन्त्रिले भन्ने गरेका थिए आपूर्ति को कुनै चिन्ता लिनु पर्दैन सब नियन्त्रणमा छ, परि आए सरकारले घर घरमा आवश्यक वस्तु पुर्याउँदछ ।
सुन्दा मजै आउछ यस्ता कुरा तर तीतो यथार्थ भने तीन दिनमै आधा सिलिन्डर ग्यास वितरणको घोषणाको बाध्यता हो । नेपालमा एलपीजी ग्यासको बार्षिक माग करिव ३० हजार मेट्रिक टनको रहेको छ । यसरी हेर्दा कोरोना र लकडाउनको त्रासले जनताले घरमा अधिक ग्यासको स्टोरेज गरे भन्ने पनि सहि नै हो । पूर्ण रुपमा आयातमा निर्भर एलपीजी ग्यासमा यो अवस्था आउँछ भन्ने करिव करिव सबैलाइ थाहा थियो ।
सरकारका मन्त्रीहरु र आपूर्ति मन्त्रालयलाई मात्र ओभर कन्फिडेन्ट थियो सब ठिक छ । ग्यास सबैले घर घरमा थुपारेका छन्, त्यसैले अभाव भयो, किन सरकारको खेदो मात्र खनेको होला जस्तो पनि लग्न सक्छ हाम्रा पाठकलाई, तर कुरो अलि फरक पनि छ ।
एलपीजी ग्यासको वितरण व्यवस्थापन सरकारले सजिलै मिलाउन सक्थ्यो यदि समयमै स्टन्ट भन्दा क्राइसेस म्यानेजमेन्टको हिसाबले काम गरेको भए । नेपालमा एल पी ग्यास उधोग संघका ४६ सदस्यहरुले ग्यास आपूर्ति गर्दछन । सिलिन्डर इन आउटको तथ्यांक सजिलै पाउन सकिन्छ । यिनका वितरकहरुको देशभरीकै रेकर्ड झिकाउन सकिन्छ।
आगामी दिनमा स्टक र सेल्स प्रत्येक दिन बुझाउने उर्दी जारी गरेरै भएपनि ग्यासको वितरण सहज गर्न सकिन्छ । ओभर कन्फिडेन्ट भएरै बस्ने हो भने आधा सिलिन्डर मात्र होइन १ केजीको पोर्टेबल सिलिन्डर बाड्नु पर्ने दिन आउन सक्छ । के ग्यासको आपूर्तिमा संकट आइसक्यो, सक्नेले भरि भरि सिलिन्डर थुपारी सके अब २-४ महिना त्यस्तालाई ग्यास चाहिदैन । देश भरि ठूला होटेल देखि साना मम पसल लगायत कल कारखाना बन्द छन् र आउदो ३-४ साता खुल्ने सम्भावना पनि कमै छ ।
यसले अवस्य पनि ३०-४० प्रतिशत ग्यासको डिमाण्ड आगामी केही समयको लागि कम हुने निश्चित छ । अब डर भनेको भारतले आपूर्ति रोक्यो भने मात्रै हो, यसमा पनि सरकारकै ठूला मन्त्रीहरुले आयात निर्यात निर्वाध रहन्छ भन्दै आएका छन्, त्यसो भए किन यो आधा सिलिन्डर ग्यासको तमाशा तीन दिनमै ।
लोकपथले यो अलोचना गरेको होइन सरकार, देशमा ठूलो संकट मडारिएको छ र यसबाट पार दिलाउने जिम्मा यहि सरकार को हो । लकडाउन कति दिन जाने हो कुनै ठेगान नभएको अवस्थामा हामी छौँ र भावी आपूर्ति व्यवस्थापन को चुनौतिलाई मध्ये नजर राख्दै ग्यास मात्र होइन अने अत्यावश्यक वस्तुको बितरणको सटिक एकद्वार प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो ।
अन्यथा आधा प्याकेट बिस्कुट पनि मुश्किल हुन सक्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया