इतिहासकै बलियो सरकारको इतिहास बनाउने पालो !

-लभेष प्याकुरेल

गएको हप्ता सञ्चार मन्त्रालयमा लोकपथ प्रतिनिधिले अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई सोधेको थियो, कोरोना संक्रमणको सम्बन्धमा नेपाल सरकार एकदमै शान्त देखिएको छ, के सरकार साँच्चिकै साइलेन्ट हो वा केही गरिरहेको छ ? यसमा मन्त्रि ज्युको जवाफ थियो तपाईले कसरी साइलेन्ट भन्नुभयो ? हामीले दैनिक के के गर्‍यौँ भनेर मिडियामा समाचार सम्प्रेसण गरिराखेका छौँ । तर तपाईले नसुनेकोमा मलाई विचित्र लाग्यो ।

आज सम्म आईपुग्दा एउटा कुरा निश्चित भन्न सकिन्छ सरकार साइलेन्ट चैँ होइन तर, पुरै कन्फ्युज्ड भने छ । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

बुधवारसम्म नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । बिस्तारै संक्रमितको संख्या बढ्ने पूर्वानुमान सबैले गरका थिए र सरकारलाई पनि यसको हेक्का हुनु पर्दथ्यो ।
तर निराश भएर भन्नु पर्दछ, अब त केहि गर नेपाल सरकर !
कोरोना : प्रभाव ,राहत र बचाव कस्तो होला नेपाल स्ट्राटेजी !

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल त्यहाँ उपलब्ध सिमित डाक्टर लगायत अन्य प्रविधिक र अत्यावश्ययक उपकारणको अभावका बीच नेपालले आफूलाई कोरोनाबाट बचाउन सक्दैन ।

अस्पताल, अस्पताल बिचको कोर्डिनेसन त टाढाको कुरा सरकारको अन्तर मन्त्रालय र मातहतका निकायबीचको कोर्डिनेसन समेत निकै फितलो देखिन्छ ।

हामीले दक्षिण कोरियाली मोडेल मै जानु पर्दछ त्यो हो ट्रेस, टेस्ट एण्ड ट्रीट तथा कठोर लकडाउन । सामान्य पिपिइको समेत अभावमा मानसिक रुपले तनाव ग्रस्त डाक्टर लगायत अन्य प्रविधिकबाट यो संक्रमण को अन्त्य हुनसक्दैन । सरकार ! मेडिकल इकुप्मेण्ट र औषधिको इम्पोर्ट तुरुन्त गर्नुहोस् ।

निजि क्षेत्रको सहयोग लिनुहोस् तर आज विश्वभर कोरोनासँग सम्बन्धित मेडिकल इकुप्मेण्ट र औषधिको अभाव छ । डिप्लोम्याटिक च्यानल प्रयोग गर्नुहोस् जसरि भए पनि चिकित्सकीय पूर्वाधारको जोगाड अनिवार्य सरकरले गर्नु पर्ने छ । आयत गर्छौ भन्ने होइन यति समान आयो भन्ने समाचार दिनुहोस् सरकार ।

दुई चार जाना ब्यापारी ले ५-७ लाख मास्क उत्पादन गर्ने उद्योग खोले केही ले औषधि सहयोग गरे भनेर खुसी हुँदै बस्ने बेला होइन यो । हामीलाई सरकारको बलियो उपस्थिति को आभाष चाहिएको छ, प्रत्येक हस्पिटलमा शहर देखि गाउँ गाउँमा ।

कुनै बेला अनमिन गुहार्न सक्ने नेपालले आज संसारभरबाट मानवीय संकटको बेला मेडिकल मिसन ल्याउन सक्दैन र ?
देशको ढुकुटी त्यति कमजोर पनि छैन आज , मन्त्रि खतिवडा आफैँ गर्वले भन्नु हुन्थ्यो हाम्रो अर्थतन्त्र मजबुत छ, ट्रेजरी सर्प्लस मै छ त्यसो भए आवश्यक मेडिकल इकुप्मेण्ट र औषधिको आयात बढाउन के ले छेक्यो ? ढिला नगरौँ अब यो हामीले गरको आलोचना होइन ३ करोड नेपालीको अनुरोध हो, हामीलाई बचाउनुस सरकार !
२०४६ साल पछि आएको आर्थिक उदारवादको लहरले गर्दा आज धेरै सार्वजनिक सेवा व्यवसाय सरकर भन्दा निजि क्षेत्रको हातमा छ ।

साल्ट ट्रडिङ्ग, खाद्य संस्थान जस्ता केही सार्वजनिक संस्थान मात्रै सरकारको हातमा छन्, अन्तरिक उत्पादन भन्दा आयात हाम्रो आधार हो, र आयात करिव करिव सम्पूर्ण निजि क्षेत्रको हातमा छ ।

सर्वसाधारण जनता सँगै निजि क्षेत्र पनि लकडाउनमा छ । आगामी दिनमा लकडाउन कहिले सम्म हुने हो यसै भन्न सक्ने अवस्था छैन ।

दैनिक ज्यालादारी मा बसेका अनि हामी जस्तै न्युन आय भएकाहरु केहि दिन त जोहो गरेर बाँचौला तर हाम्रो लागि सरकारसँग केही योजना छ।

जनतालाई घरको न घाटको त पार्दैन यो लकडाउन ले ? कृपया हामीलाई आश्वस्त परियोस् सरकार ।।। कसैको घरमा बोराका बोरा चामल छ तर कोही नेपाली भोकै नमरोस् यो हो तिम्रो जिम्मेवारी सरकार,यो हामीले गरको आलोचना होइन, ३ करोड नेपालीको अनुरोध हो, हामीलाई बचाउनुस सरकार !
आज देशको होटल, पर्यटन क्षेत्र मात्र होइन अब त सम्पूर्ण व्यवसायिक वातावरण नै ठप्प भईसक्यो तर पनि निजि क्षेत्र लकडाउनबाटै भएपनि सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा धमाधम सहयोगको घोषणा गर्दैछ ।

निजि क्षेत्रलाई साथमा लिएर आपूर्ति व्यवस्थापन मिलाउन ढिलो नगर सरकार ।

हामी सक्छौँ, आपूर्ति व्यवस्था धान्न देश र राज्यको ढुकुटी सक्षम छ !

नेपाल सरकारसँग आजको मितिमा करिब ९.७ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चित रहेको छ ।

असामान्य अवस्थामा संयमित आयात गर्ने हो भने यसैले दोब्बर समय काम चलाउन सकिन्छ। तर यसको लागि हामीलाई समयमै दीर्घकालिन रणनीति को आवश्यकता हुन्छ।

भारत लगायत नेपालले खाद्य तथा आवश्यक वस्तु आयात गर्ने रास्ट्रहरुसँग समन्वय र बिशेष व्यवस्था गर्न सक्नु पर्दछ नत्र ढुकुटीमा रहेको डलर को कुनै महत्व रहने छैन।

नेपाली समाजको सुन्दर पक्ष भनेको शहनशील समाज हो र संकटको समयमा सरकारको सदैव साथ दिँदै आएको छ नेपाली समाजले ।

अब पालो राज्य र यो बलियो सरकारको हो प्रत्येक नेपाली को ज्यान जोगाउने सरकारको कर्तव्य हो, हरेक नेपालीको जीवनको अमुल्य छ ।।। सरकार स्ट्राटेजी बनाउनुहोस् हामी साथ दिन तयार छौँ ।

इतिहासकै बलियो सरकार भनेको धेरै सुनियो अब इतिहास बनउने पालो नेपाल सरकारको !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?