…अनिमात्रै नेपालले जित्नेछ कोरोनविरुद्धको ‘युद्ध’

लभेश प्याकुरेल

काठमाडौं । नेपाल सरकार र नेपाली जनता आज कोरोनभाइरस (कोभिड–१९) विरुद्धको ‘युद्ध’मा होमिएका छन् । कोरोनाभाइरसको सङ्क्रमण विश्वका १९५ देशमा फैलिसकेको र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ ।

संसारभरीकै देश र जनता कोरोनविरुद्धको युद्धमा छन् । विश्वका आर्थिक शक्ति राष्ट्रसमेतलाई कमजोर साबित गर्न सफल कोरोन विरुद्धको नेपालको युद्ध सजिलो हुने छैन । तर, नेपालीको धैर्यता, एकता र सरकारी अभियानले विजयी हासिल हुनेमा विस्वस्त हुनुपर्छ ।

देशले कोरोनविरुद्ध चिकित्सकीय र आर्थिक दुवै फ्रन्टमा लड्नु पर्ने छ । यो लडाइँ रोग, भोक र शोकसँगको हो । हामी सबै मानसिक रुपमा तयार हुनु आवश्यक छ । हिजो सरकार र हामी जनताले के गल्ती गर्यौँ त्यसको आलोचना भन्दा पनि आगामी तयारी आजको आवश्यकता हो ।

आज लकडाउनको मात्र दोस्रो दिन हो । यो लकडाउनको समय कति लम्बिने छ, यसको अनुमान गर्न सजिलो छैन । कोरोनाभाइरसको सङ्क्रमण हाल सुस्त नै रहेको छ नेपालमा । तर आगामी दिन कसरी जाला भन्न मेडिकल एक्सपर्टहरुलाई समेत हम्मे परिरहेको छ । कोरोनाभाइरसको सङ्क्रमण नेपालमा आज सम्म फेज वानमै छ । भारतमा यो फेज टुमा छ र चीन सरकारका अनुसार चीनबाट यो फेज आउट नै भइसक्यो । नेपाल कमजोर अर्थतन्त्र भएको राष्ट्र हो । सरकारी र निजी दुवै स्वाथ सेवामा हामी कमजोर छौं र कोरोनाभाइरसको सङ्क्रमण विरुद्ध हाम्रो पहिलो लडाइँ मेडिकल फ्रन्टमा हुने निश्चित छ ।

मंगलवार सिंहदरवारमा बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले कोरोना उपचारसम्बन्धी आवश्यक मेडिकल सरसामान आयात गर्न निजी क्षेत्रसँग समन्वय गरेर थप आयात गरिने निर्णय गरेको छ ।
देशमा चिकित्सक र स्वास्थ्यकर्मीको पहिलेनै अभाव छ । स्वस्थ संस्था पर्याप्त छैन । यो हाम्रो यथार्थ हो र कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध हाम्रो लडाइँ हामीले उपलब्ध संसाधन बाटै लड्नु पर्नेछ । यतिबेला सरकारले अहम् निर्णय गर्ने बेला आइसकेको छ । छिमेकी मुलुक चीनसँग कहिले र कस्तो र कुन तहको मद्दत लिने ? सार्क सहयोग कोष र भारतको साथ र सहयोगको प्रतिबद्धता भएता पनि भारतकै स्थिति अनिश्चित छ । विश्व स्वस्थ संगठन, विश्व बैंकलगायत अन्य डोनर पार्टनर तथा देशले सहयोगको प्रतिवद्धता जाहेर गरिसकेका छन् । अब यसको सदुपयोग गर्ने बेला आएको छ । भूकम्पपछि देशभरी राहत र पुनर्निर्माणको अनुभब हामीसँग छ र अब यो नै हाम्रो ‘नेसनल स्ट्रेन्थ’ हुनुपर्छ ।

भारतले बुधबार देंखिनै २१ दिनको लकडाउनको घोषणा गरिसकेको छ । कोरना विरुद्धको अधिकारिक भ्याक्सिन विश्वमै छैन । तर हालसम्मको विश्व ‘ट्रेन्ड’ हेर्दा यसको अचुक अश्त्र ‘सोसिअल डिस्टेन्सिङ’ नै मानिएको छ । लामो समयको लकडाउन आफैमा चुनौतिपूर्ण हो । जनताको मनोवैज्ञानिक र सरकारको लागि आपूर्ति लगायत अन्य व्यवस्थापनको हिसाबमा ।

बेला आइसकेको छ, अब लामो लकडाउन र यो बीच व्यवस्थापनको चेन अफ कमाण्ड तथा अप्रेसनको मोडयालिटी तयार गर्ने र र त्यस्को सफल प्रयोग गर्ने । नेपालको अर्थतन्त्र सानो छ तर यसको मौलिक विशेषता पनि छन् । हाम्रो देशले पटक पटक आन्तरिक समस्याहरु सजिलै व्यवस्थापन गरिसकेको छ । जनातमा सहनशीलता पनि उच्च रहेको छ, नाकाबन्दीमा यो पूर्ण प्रमाणित भैसकेको छ । सेना, प्रहरी प्रसासन र अन्य सम्पूर्ण उपलब्ध स्रोतको सदुपयोग गर्दै सरकारले क्राइसेस म्यानेजमेन्ट गर्नु छ ।

रोग, भोक र शोकको यो लडाइँ हामी जनताले पनि संयमित भएर लड्नु पर्नेछ । लामो समयको लकडाउनका लागि मानसिक रुपमा तयार हुनु हाम्रो लागि कल्याणकारी हुनेछ । अब बेला आएको छ, मुटु दह्रो बनाउने, म हैन हामी, घर हैन समाज अनि देश भन्ने भावनाबाट यो युद्ध जितिने छ। सरकार प्रति विश्वाश मात्र हाम्रो सहारा हो र यसमा हाम्रो पनि सरकारी नियम पालनामा सहयोगी भूमिका हुनुपर्छ ।

कोरोनाभाइरसको सङ्क्रमणले हाम्रो अर्थतन्त्रमा कस्तो नकारत्मक प्रभाव पर्ला त्यो पछि को कुरा हो । भनिन्छ मर्नु भन्दा बहुलाउनु जाति, आगामी दिन कठिन छन् तर असम्भब छैन । यो युद्ध आपसी विश्वास र सद्भावले मात्र जित्न सकिन्छ, र यो मामिलामा हामी धनि छौँ । मात्र अहिले चाहिएको छ, दृढ आत्मबल, दृढ इच्छाशक्ति, एकता र सावधानी । अनिमात्र जित अवश्य नेपाल र नेपालीको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?