कोरोना भाइरस : संक्रमित युवतीसँगै कतारबाट नेपाल आएका १२५ जना सम्पर्कमा

काठमाडौं । कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानमा १५८ जना रहेको खुलेको छ । त्यसमध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको र बाँकिसँग भने सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको बताइएको छ ।

चैत्र ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल प्रवेश गरेकी ति युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिले उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच उनीसँग कतारबाट काठमाडौँसम्म यात्रा गरेकाहरुको खोजी धमाधम शुरु भएको छ ।

उक्त दिन कतार एयरवेजको तीन वटा विमान काठमाडौँमा अवतरण भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यागमन विभागसँग तीन वटै विमानमा रहेका यात्रुको विवरण मागेको थियो । मन्त्रालय उच्च स्रोतका अनुसार संक्रमित युवती ‘क्यूआर ६५२’ विमानबाट आएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले उक्त विमानमा रहेका सबै १५८ यात्रुको विवरण प्रहरी प्रधान कार्यालय पठाएको र, उनीहरुसँग सम्पर्क गरेर स्वास्थ्य परीक्षण र निगरानी गर्न आदेश दिएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिलेसम्म १५८ मध्ये १२५ जनासँग सम्पर्क स्थापित भएको र उनीहरुको स्वास्थ्य परिक्षण गरेर होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण अहिले सम्म १७ हजार १ सय ४७ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?