भद्रपुर । व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति (पुरुष) आजदेखि घरमै स्वनिगरानी (क्वारेन्टाइन)मा बसेका छन् । निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य कार्यालयले प्रशंसा गर्दै उनलाई प्राविधिक सहयोग पु-याएको छ ।
भद्रपुर नगरपालिका–६ का ३७ वर्षीय ती व्यक्ति शनिवार काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै घर फर्किएका थिए । उनले घरमा पुगे लगत्तै नगरपालिकाको विपद् व्यवस्थापन समितिमा सम्पर्क गरेर आफूले ‘सेल्फ क्वारेन्टाइन’मा बस्न चाहेको बताएका थिए ।
आज जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाई र विपद् व्यवस्थापन समितिको स्वास्थ्यकर्मीसहितको टोली उनको घरमा पुगेको थियो । उनको स्वास्थ्य सामान्य रहेको बताउँदै अधिकृत चौलागाईँले भने, “सचेत व्यक्ति हुनुहुँदोरहेछ, आफैँ सम्पर्क गरेर सेल्फ क्वारेन्टाइनमा बस्छु भने र हामीले उनकै घरको एक कोठामा आवश्यक सामान जुटाएर उहाँलाई राख्यौँ ।”
उनी २० दिनअघि व्यक्तिगत कामले थाइल्याण्ड गएका थिए। उनलाई समितिले तयार गरेको वडा नं ८ मा रहेको कलबलगुढी क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि आफैँ घरमा बस्ने इच्छा व्यक्त गरेपछि घरमै बस्ने वातावरण तयार गरिएको अधिकृत चौलागालाई बताए । उनको स्वास्थ्य नियमित परीक्षण गरिने उनको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया